
हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख तथा जलवायु जोखिममा रहेका मुलुकको अनुकूलन क्षमतामाथि चुनौती थपिँदै गएको छ ।
हिमनदी पग्लिने, सधैभरी हिउँले ढाकेको क्षेत्रमा कला पहाडमा परिणत हुने र भौगर्भिक विपद्को जोखिम बढ्दै जाने क्रमले तीव्रता पाएको वैज्ञानिक अध्ययनले देखाएको छ ।
वल्र्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए) का वैज्ञानिक तथा अन्तरराष्ट्रिय हिमनदी विज्ञको वैज्ञानिक विश्लेषणले मानव सिर्जित तापक्रम वृद्धिले उच्च हिमालयको वातावरणमा दीर्घकालीन परिवर्तन ल्याउँदा हिमनदी पातलिने, ‘पर्माफ्रोस्ट’ पग्लिने र पहाडी चट्टान कमजोर हुने अवस्था सिर्जना भएको जनाएको छ ।
नेपाल–चीन सीमा क्षेत्रमा गत भदौ १० गते गएको चट्टान–हिमपहिरो तथा बाढीमा भूगर्भीय कारणसँगै दशकौँदेखिको जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको प्रभावले जोखिम बढाएको वैज्ञानिकको निष्कर्ष छ ।
“भदौ १० मा ल्याङटाङ लिरुङ हिमालबाट ठूलो परिमाणमा चट्टान र हिमनदी खसेपछि त्यसले पानी, हिउ र गेग्रानसहितको विनाशकारी बाढीको रूप लिएको हो,” अध्ययानमा भनिएको छ ।
वैज्ञानिकहरूले यसलाई कुनै एउटा चरम मौसमी घटनाको परिणाम मात्र नभई विभिन्न जलवायु तथा भूगर्भीय कारणबाट एकैपटक जोडिएर भएको बहुआयामिक विपद् भनेका छन् ।
चट्टान–हिमको ठूलो क्षति
प्रारम्भिक रूपमा उक्त घटना भूकम्पका कारण भएको हुनसक्ने अनुमान गरिए पनि पछिल्ला वैज्ञानिक प्रमाणले करिब दुई वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको चट्टानी भित्तो र हिमनदीको ठूलो भाग एकैपटक खसेपछि विपद् सुरु भएको देखाएको छ ।
“करिब पाँच हजार १५० मिटरको उचाइबाट झरेको चट्टानसहितको हिउँको ढिक्को करिब तीन हजार ७५० मिटर उचाइको उपत्यकामा आइपुगेको थियो, ठूलो परिमाणको चट्टान र हिम खस्दा उत्पन्न ऊर्जाले भूकम्पजस्तै भूकम्पीय तरङ्ग सिर्जना गरेको र वैज्ञानिक विश्लेषणअनुसार उक्त ऊर्जा करिब ५.५ म्याग्निच्युडको भूकम्प बराबर थियो,” अध्ययानमा भनिएको छ ।
पहाडबाट खसेको चट्टान, हिम र भग्नावशेष तीव्र गतिमा तल झर्दा घर्षण तथा यान्त्रिक ऊर्जाका कारण हिउ पग्लिएको र थप पानी उत्पन्न भएको हुनसक्ने अध्ययनले जनाएको छ ।
त्यस्तै त्यस क्षेत्रका स–सना खाल्टोमा जमेको हिम तथा हिमनदीमुनिको पानी र पर्माफ्रोस्ट क्षेत्रमा रहेको पानीसमेत मिसिँदा ठूलो परिमाणमा पानी, हिम, चट्टान र गेग्रानको मिश्रण बनेको अध्यायन रिर्पाोटमा उल्लेख छ । उक्त मिश्रणले विनाशकारी गेग्रानयुक्त बाढीको रूप लिएको हो ।
सात मिनेटमै रसुवागढी
अध्ययनअनुसार चट्टानसहितको हिउको भेल उद्गमस्थलदेखि रसुवागढी नाकाबाट २२ किलोमिटर तलको क्षेत्रमा करिब सात मिनेटमै पुगेको थियो । यसको औसत गति प्रतिघण्टा १८८ किलोमिटर रहेको अनुमान गरिएको छ ।
अत्यन्त तीव्र गतिको बाढीले रसुवागढी सीमा क्षेत्र, टिमुरे बजार तथा स्याफ्रुबेँसी आसपासका संरचनामा ठूलो क्षति पु¥याएको थियो । बाढीबाट त्यस क्षेत्रमा रहेका स्थानीय, तीर्थयात्री, सीमा सुरक्षाकर्मी तथा जलविद्युत् आयोजनामा कार्यरतकर्मचारीको ठूलो क्षति भएको छ ।
बाढीले टिम्मुरे तथा वेत्रावती जस्ता बजारमा अपुरणीय क्षति पु¥याउनका साथै त्यस क्षेत्रको पहिचान समेत बोकेका ठूला ढुङ्गा र महत्वपूर्ण सम्पदाभवनसमेत नदीले बगाएको अध्ययनमा उल्लेख छ ।
करिब सात घण्टाभन्दा कम समयमै बाढी २०० किलोमिटर तल देवघाट पुगेको र त्यहाँ नदीको बहाव दोब्बरभन्दा बढी भई प्रतिसेकेन्ड करिब पाँच हजार ८५० घनमिटर पुगेको वैज्ञानिकले निष्कर्ष निकालेका छन् । एक अध्ययनअनुसार करिब दुई करोड घनमिटर अतिरिक्त पानी चार घण्टाभन्दा कम समयमा बगेको अनुमान गरिएको छ ।
“बाढीले करिब तीन करोड पाँच लाख घनमिटर गेग्रान तथा भग्नावशेष थुपारेको थियो । त्यसबाट कृषि भूमि, बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । ग्लाचीमा समेत त्रिशूली नदीको जलसतह आठ दशमलव पाँच मिटर बढेको देखिन्छ,” अध्ययनले जनाएको छ ।
शून्य डिग्रीको सिमाना प्रतिदशक १०० मिटर माथि
अध्ययनअनुसार जीवाश्म इन्धनको प्रयोगबाट उत्पन्न मानव सिर्जित तापक्रम वृद्धिले उच्च हिमालयमा शून्य डिग्री सेल्सियसको तापक्रम रहने सीमाअर्थात् ‘जिरो डिग्री आइसोथर्म’ प्रतिदशक करिब १०० मिटरको दरले माथि सार्दै लगेको छ ।
यसले उच्च हिमाली क्षेत्रमा जमिन तथा चट्टानभित्र रहेको स्थायी बरफ र पर्माफ्रोस्ट लामो समयसम्म पग्लिने अवस्था सिर्जना गरेको छ । पर्माफ्रोस्टमा रहेको बरफले चट्टानका चिरालाई जोडेर पहाडी भित्तालाई स्थिर राख्न भूमिका खेल्ने भएकाले यसको पग्लाइले चट्टान कमजोर बनाउने वैज्ञानिकहरूको भनाइ छ ।
उट्रेक्त विश्वविद्यालयका पर्वतीय जलविज्ञ प्राध्यापक वाल्टर इम्मरजिलले जलवायु परिवर्तनका कारण उच्च हिमालयको वातावरणमा आधारभूत र दीर्घकालीन परिवर्तन भइरहेको बताउनुभएको छ ।
“पर्माफ्रोस्ट क्षय, हिमनदी पछाडि हट्नु र गर्मीको अत्यधिक वृद्धि एकसाथ हुँदा हिमाली चट्टानको संरचनात्मक स्थायित्व कमजोर बन्न सक्छ,” उहाँले भन्नुभयो ।
हिमनदी पातलिँदा प्राकृतिक सहारा घट्यो
वैज्ञानिकहरूले तापक्रम वृद्धिका कारण हिमनदी उल्लेख्य रूपमा पातलिँदै र पछाडि हट्दै गएको बताएका छन् । हिमनदीको क्षयले घटनास्थल वरपरको चट्टानलाई प्राप्त हुँदै आएको प्राकृतिक सहारा कम गर्नुका साथै थप पग्लिएको पानी उपलब्ध गराएको हुनसक्ने अध्ययनमा उल्लेख छ ।
त्यस्तै चट्टानका चिरामा रहेको बरफ पग्लिँदा चट्टानको ‘बन्धन’ कमजोर हुने र पग्लिएको पानी चिराभित्र प्रवेश गर्दा पानीको दबाब बढ्ने भएकाले पहाडको स्थायित्वमा थप असर पर्नसक्ने वैज्ञानिकको विश्लेषण छ ।
विसं २०७२ को भूकम्पले पनि पूर्वस्थितिलाई कमजोर बनाएको हुनसक्ने
विसं २०७२ को भूकम्पले हिमाल र त्यस वरपरको घटनास्थल आसपासको चट्टानी संरचनालाई कमजोर बनाएको हुनसक्ने अध्ययनले जनाएको छ ।
वैज्ञानिकहरूले उक्त भूकम्पको यही घटनामा प्रत्यक्ष योगदान कति थियो भन्ने अझै पुष्टि हुन नसकेको स्पष्ट पारेका छन् । तर भूकम्पले पहिले नै कमजोर बनाएको चट्टानी संरचनामा दीर्घकालीन तापक्रम वृद्धि, हिमनदीको क्षय र पर्माफ्रोस्ट पग्लिने क्रमले थप अस्थिरता ल्याएको हुनसक्ने विज्ञहरुको भनाइ छ ।
घटनाअघि अत्यधिक गर्मी
चट्टान–हिमपहिरो हुनुभन्दा ठीक अघि जुलाई र अगस्ट सन् २०२६ स्थानीयस्तरमा अहिलेसम्मकै सबैभन्दा तातो महिनाका रूपमा देखिएको अध्ययनले जनाएको छ ।
त्यसअघि सन् २०२५ को अक्टोबर र नोभेम्बरमा भएको उल्लेख्य हिमपातले पहाडमा ठूलो मात्रामा हिम सञ्चय गरेको र त्यसपछिको असामान्य तापक्रमका कारण तीव्र हिमपग्लाइबाट घटनाअघि थप पानी उपलब्ध भएको हुनसक्ने वैज्ञानिकहरूको धारणा छ ।
अध्ययनमा गरिएको जलवायु एट्रिब्युसन विश्लेषणअनुसार घटनास्थल क्षेत्रमा जुलाई र अगस्टको तापक्रम औद्योगिक युगअघिको तुलनामा मानव सिर्जित जलवायु परिवर्तनका कारण करिब १.५ डिग्री सेल्सियस बढेको छ । वार्षिक रूपमा भने तापक्रम वृद्धि करिब दुई डिग्री सेल्सियस रहेको वैज्ञानिकले बताएका छन् ।
‘यो मौसमी घटना मात्र होइन’
इम्पेरियल कलेज लन्डनका चरम मौसम तथा जलवायु परिवर्तनसम्बन्धी अनुसन्धानकर्ता डा बेन क्लार्कले यो घटना कुनै एउटा चरम मौसमी घटनाका कारण नभएको बताउनुभएको छ ।
उहाँका अनुसार दीर्घकालीन परिवर्तनमा जलवायु परिवर्तनको स्पष्ट प्रभाव देखिन्छन् । उच्च हिमाली वातावरणमा भइरहेको परिवर्तनले उक्त विपद्का सम्भावित कारणलाई प्रभावित गरेको छ ।
“जलवायु परिवर्तनले उच्च हिमाली वातावरणलाई परिवर्तन गरिरहेको छ र यसले यो विपद्का सम्भावित धेरै कारकलाई प्रभावित गरिरहेको छ,” उहाँले भन्नुभएको छ ।
रेडक्रस रेडक्रिसेन्ट क्लाइमेट सेन्टरका वरिष्ठ प्राविधिक सल्लाहकार तथा एसिया–प्रशान्त क्षेत्रीय फोकल प्वाइन्ट माधव उप्रेतीले भोटेकोशी विपद्ले नेपाल जलवायु अनुकूलनको सीमामा पुगिसकेको देखाएको बताउनुभएको छ ।
“भविष्यका विपद् मानवीय त्रासदीमा परिणत हुन नदिन विश्वव्यापी उत्सर्जन कटौतीसँगै जोखिममा रहेका समुदायले व्यहोर्नुपरेको हानि तथा नोक्सानी सम्बोधन गर्न अन्तरराष्ट्रिय सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो, “एक हजार तीन सयभन्दा बढी मानिसको मृत्यु र हजारौँ बेपत्ता हुनु जलवायु अनुकूलनको सीमामा पुगिसकेको अवस्थाको दुःखद् स्मरण हो ।”
‘भोटेकोशी विपद्ः तीव्र गतिमा तातिरहेको हिमालयको चेतावनी’
क्लाइमेट एनालिटिक्स साउथ एसियाका निर्देशक तथा जलवायुविद् मञ्जित ढकालले भोटेकोशी विपद्लाई तीव्र गतिमा तातिरहेको हिमालयमा बढ्दै गएको जोखिमको गम्भीर चेतावनीका रूपमा व्याख्या गर्नुभएको छ ।
उहाँका अनुसार तापक्रम वृद्धिले हिउँ, हिमनदी, पर्माफ्रोस्ट तथा समग्र हिमाली वातावरणमा परिवर्तन ल्याएको मात्र नभई झन जटिल प्रकारका प्रकोप तथा एकपछि अर्को असर पार्ने विपद् सिर्जना गरिरहेको छ ।
“तापक्रममा हुने हरेक सानो वृद्धिले पनि जोखिम थप्छ,” ढकालले भन्नुभयो, “विज्ञानले देखाएको तथ्यलाई अबलम्बन गर्दै तत्काल विश्वव्यापी कार्वोन उत्सर्जन अझ तीव्र रूपमा घटाउन, पर्वतीय क्षेत्रका जटिलता र जोखिम बुझ्न अनुसन्धानमा लगानी बढाउन, हिमाली क्षेत्रमा अनुगमन र पूर्वसूचना प्रणाली बलियो बनाउन तथा जलवायु जोखिमलाई ध्यानमा राखी विकासका परियोजना अघि बढाउन आवाश्यक रहेको छ । नेपालजस्ता जलवायु सङ्कटको अग्रपङ्क्तिमा रहेका देशलाई आवश्यक परेकै बेला अन्तरराष्ट्रिय जलवायु वित्त उपलब्ध गराउन मार्गदर्शन गर्नुपर्छ ।”
अनुकूलनसँगै उत्सर्जन कटौतीमा जोड
न्युक्यासल विश्वविद्यालयकी हिमनदी विज्ञानकी प्राध्यापक बेथान डेभिसले जीवाश्म इन्धनको प्रयोगबाट भइरहेको तापक्रम वृद्धिले हिमालयको हिउँ र बरफ पगाल्नुका साथै हिमनदीको क्षेत्रफल घटाइरहेको र पर्माफ्रोस्ट पगालिरहेको बताउनुभएको छ ।
हिमाली भिरालो संरचनालाई अस्थिर बनाउँदै यस्ता विपद्को जोखिम बढाउने भएकाले उत्सर्जन कटौतीका लागि तत्काल कदम चाल्नुपर्ने उहाँको भनाइ छ ।
इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञानकी प्राध्यापक फ्रिडेरिके ओट्टोले जलवायु न्यायको प्रश्नसमेत गम्भीर बनेको बताउनुभएको छ । जीवाश्म इन्धनको उत्सर्जनबाट उत्पन्न विश्वव्यापी सङ्कटको मूल्य नेपालका समुदायले ज्यान गुमाएर चुकाउनुपरेको उहाँको भनाइ छ ।
वैज्ञानिकहरूले हिमनदी तथा उच्च हिमाली पर्माफ्रोस्ट तापक्रम वृद्धिप्रति दशकौँसम्म प्रतिक्रिया जनाउने भएकाले विगतमा भइसकेको तापक्रम वृद्धिले भविष्यमा समेत पहाडी संरचनालाई अस्थिर बनाउने प्रक्रिया अघि बढाइसकेको चेतावनी दिएका छन् ।
भविष्यमा यस्ता घटना रोक्न उच्च हिमालयको निरन्तर वैज्ञानिक निगरानी, हिमनदी तथा पर्माफ्रोस्टको अध्ययन, पूर्वसूचना प्रणालीको सुदृढीकरण र सीमापार तथ्याङ्क आदानप्रदानसँगै जीवाश्म इन्धनको प्रयोग घटाउने विश्वव्यापी प्रयासलाई तीव्र बनाउनुपर्ने अध्यनको निष्कर्ष छ ।(रासस)

