नवकान्तिपुर संवाददाता
दमौली (तनहुँ), ६ असोज।

रसुवाको भोटेकोशीमा गएको बाढीमा परी २७ दिनदेखि बेपत्ता नेपाली सेनामा कार्यरत तनहुँकी कृति कुमालको परिवारले अन्ततः उहाँको कुशको शव बनाएर अन्त्येष्टि गरेको छ ।
व्यास नगरपालिका–५ की कुमाल रसुवाको टिमुरेस्थित श्रीनाथ गणमा सिपाही पदमा कार्यरत हुनुहुन्थ्यो । भोटेकोशीमा गएको बाढीपछि बेपत्ता उहाँको खोजीका लागि निरन्तर प्रयास गरिए पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले मंगलबार व्यास नगरपालिका–५ स्थित घाटमा कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् ।
विसं २०६२ असोज ३० गते जन्मिनुभएकी कुमाल २०८१ सालमा नेपाली सेनामा भर्ती हुनुभएको थियो । नेपाली सेनामा सेवा सुरु गरेपछि उहाँ रसुवाको टिमुरेमा रहेको श्रीनाथ गणमा कार्यरत हुनुहुन्थ्यो ।
शव भेटिने सम्भावना न्यून हुँदै गएपछि धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गरिएको उहाँका पिता अमर कुमालले बताउनुभयो ।
कुमालको दाहसंस्कारअघि व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) बाट नेपाली सेनाको टुकुडीले घाट पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो । त्यसपछि उहाँका हजुरबुबा गुरुबहादुर कुमालले कुशको शवमा दागबत्ती दिनुभएको थियो ।

