अर्को वर्ष भेटौँला मनास्लु !

सातोरी एडभेन्चर प्रालिका फुर्ते शेर्पा लेख्नुहुन्छ, “हिमाल जहिले पनि त्यहीँ रहिरहनेछ, तर जीवन सबैभन्दा पहिले आउँछ । खराब मौसमका कारण सुरक्षित रहने निर्णय स्पष्ट भएपछि सातोरी एड्भेन्चर्स प्रालिको टोली सकुशल घरतर्फ फर्किंदैछ । अझै पनि हिमालमा रहनुभएका हाम्रा सम्पूर्ण साथीहरू, बलियो बन्नुहोस्, सुरक्षित रहनुहोस्, आफ्नो निर्णयमा विश्वास राख्नुहोस् र सकुशल घर फर्कनुहोस् । कुनै पनि शिखरको आरोहण जीवनलाई जोखिममा पार्न लायक हुँदैन । अर्को वर्ष भेटौँला, मनास्लु ।”

मनास्लुमा रहेको समिट फोर्स टोलीका माइल्स शेर्पा लेख्नुहुन्छ, “तीव्र हावा र निरन्तरको हिमपातले पर्वतारोहीलाई शिखरमा पुग्ने योजना पुनरावलोकन गर्न र क्याम्प १ र २ बाट आधार शिविरमा फर्कन बाध्य बनाएको छ ।” आउँदै गरेको ढिलो मनसुनी आँधी प्रणालीले पहिले नै हिमपहिरोको जोखिममा रहेको हिमालमा थप हिउँ थुपार्ने शेर्पाको भनाइ छ ।

“महिनौँको तयारीपछि बल्लतल्ल पुगेको शिखरबाट फर्कन यसै सहज हुँदैन, तर हिमाल सधैँ यहीँ रहिरहनेछ । मनास्लु सधैँ यहीँ छ । आउँदो वर्ष पुनः फर्कनुहोला । हामीलाई आफ्नो टोलीप्रति गर्व छ, उहाँहरू कति माथिसम्म पुग्नुभयो भन्नेमा मात्र होइन, परिस्थिति अनुकूल नहुँदा सही निर्णय लिने आँट देखाउनुभएकोमा पनि । सबैभन्दा ठूलो सफलता सधैँ शिखरमा पुग्नु मात्र होइन । कहिलेकाहीँ, सुरक्षित रूपमा घर फर्कनु नै सबैभन्दा ठूलो उपलब्धि हो”, भन्दै उस्तै सभ्य र सालिन भाषा प्रयोग गर्दै हिमालय समिट क्लबले आफ्ना आरोहीलाई पनि घर फर्काएको छ ।

समिट क्लबले भनेको छ, “विनम्रता, धैर्यता र प्रकृतिप्रतिको सम्मानको अर्को पाठ सिकाएकोमा धन्यवाद, मनास्लु ! अनि यस मनास्लु यात्रामा हामीसँग जोडिनु भएकोमा र आफ्नो विश्वास तथा सहयोगका लागि विश्वभरका हाम्रा सम्पूर्ण आदरणीय अतिथिप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । सन् २०२७ मा फेरि भेटौँला ।”

सन् २०२६ को लागि शरदकालीन मनास्लु आरोहण सिजन कसैले पनि आरोहण नै नगरी औपचारिक रुपमा टुङ्गिएको छ । बङ्गालको खाडीबाट नेपालतर्फ आउँदै गरेको गहिरो न्यून चापीय प्रणालीको प्रभाव विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा पनि देखिएको हो ।

जसका कारण हिमालमुनि रहेका सयौँ पर्वतारोही र गाइडलाई असर परेको छ । दुई सातादेखि लगातार मौसमले साथ नदिएपछि आफूहरु मनास्लु आरोहण नगरी धमाधम फर्किएको आरोही नाङ्स्याल छोदेनले बताउनुभयो ।

मनास्लुको क्याप ३ सम्म पुगेका आरोही चुचुरोमा नपुगी फर्किनुपरेको उहाँले जानकारी दिनुभयो । “यसपालि मौसमले साथ नदिएपछि सबैजना फर्किनुपर्यो, जीवन रह्यो भने हिमालले त पर्खन सक्छ”, उहाँले भन्नुभयो, “अहिले त बेसक्याप पनि रित्तिसक्यो । हामी केही आरोही र शेर्पाको टोलीहरु बेसक्यापमा टेण्ट निकाल्दै छौँ । हामी पनि अब सामागाउँ झर्ने तयारीमा छौँ ।”

यो सिजनमा रोप फिक्सिङ (डोरी बाँध्ने) कार्यदलका केही सदस्यबाहेक अन्यले मनास्लु आरोहण गर्न नपाएको छोदेनको भनाइ छ । उहाँका अनुसार मनास्लुको क्याम्प ३ सम्म पुगेका आरोही मङ्गलबार बेसक्याप झरेका र बुधबार बिहानदेखि सामागाउँ फर्कन थालेका हुन् ।

केही कम्पनीका आरोही अक्टोबरमा आरोहण गर्ने तयारीमा रहेका र अधिकांश आरोही काठमाडौँ फर्कन लागेका आरोही नाङ्स्याल छोदेनले बताउनुभएको छ ।

मनास्लु आरोहणको तयारीमा रहेका अमेरिकी आरोही चार्ली एङ्गलले भन्नुभएको छ, “आज धेरै मानिसहरू हिमालबाट तल झर्दैछन् । केही मानिसहरू अझै पनि आफैँ तल आउन सकेका छैनन् । उद्धार कार्य अझै जारी छ । अनि मौसमको अवस्था हेर्दा, अबको एक हप्ता वा १० दिनसम्म पर्खनुपर्ने स्थिति आउन सक्छ जस्तो देखिन्छ । त्यसो भए हामी के गर्दैछौँ त ? खासै केही छैन । हामी पर्खिरहेका छौँ, मौसमलाई नियालिरहेका छौँ । के भइरहेको छ भनेर बुझ्ने प्रयास गर्दैछौँ र त्यसैका आधारमा निर्णय लिनेछौँ ।”

यसअघि सन् २०२२ को शरद ऋतुमा प्रतिकूल मौसमका कारण सयौँ आरोहीहरु मनास्लु आरोहण नगरी फर्किनुपरेको थियो । निरन्तर वर्षा र हिमपातका कारण हिमाल चढ्न अनुकूल नभएपछि यो वर्ष पनि आरोही हिमालै नचढी फर्किनु परेको हो ।

हालका लागि मौसम प्रतिकूल भए पनि फेरि यसै याममा आरोहण गर्न सक्ने सम्भावना नरहेको बेसक्यापमा रहेका प्रबल लामाले जानकारी दिनुभयो ।

“विभिन्न देशबाट आएका आरोही कसैको भिसा सिद्धिएको हुन्छ । आफूमात्र गएर भएन । सरसामान लैजानुपर्छ, गाइड, शेर्पा लैजानुपर्छ । त्यसैले अब फेरि फर्केर आरोहणमा जाने सम्भावना छैन”, लामाले भन्नुभयो, “म सन् २०१२ देखि मनास्लु आउन थालेको हुँ । यो वर्षजस्तो भारी वर्षा र हिमपात कहिल्यै आएको थाहा थिएन ।”

सितिमिति पानी नै नपर्ने र परे पनि अति कम पर्ने मनास्लु आधार शिविरमा विगत दुईसातादेखि निरन्तर पानी परिरहेको सामागाउँका वीरबहादुर लामाले बताउनुभयो । हाल सामागाउँ बेसक्याम्पबाट फर्किएका आरोहीहरुले होटल खचाखच भरिएको उहाँले जानकारी दिनुभयो । “केही मनास्लु सर्किट हुँदै पैदल हिँडेर फर्कने तयारीमा छन् भने अधिकांश हेलीमा फर्किरहेका छन्”, लामाले भन्नुभयो ।

उच्च हिमाली वातावरण द्रुत गतिमा बदलिरहेको छ । हिमपात, वर्षा, हावाको बेग र हिमालको अस्थिरता, यी सबैले हिमाल आरोहणमा निर्णय लिन महत्वपूर्ण भूमिका खेल्छन् । यही विषयको भेउ नपाउँदा सन् २०१२ मा र ११ जना आरोहीको ज्यान गयो ।

आठ हजार १६३ मिटर अग्लो मनास्लुलाई प्राविधिक रूपमा कठिन र हिमपहिरोको उच्च जोखिमयुक्त शिखरका रूपमा लिइँदै आइएको छ । यसका आरोहण मार्गहरूले हिमखानी भरिएका भूभाग, क्याम्प १ र २ बीचको सक्रिय आइसफल तथा माथिल्लो भेग ठाडो, भिरालो पाखा एवं सेराक्स छन् ।

केहीदिनको अप्रत्याशित भारी हिमपातपछि, मनास्लुमा करिब पाँच फिट नयाँ हिउँ जम्मा भएसँगै हिमालको स्थिति पूर्ण रूपमा परिवर्तन भएको छ । क्याम्प ३ र क्याम्प ४ बीचको बाटो हिमपहिरोको तीव्र जोखिमयुक्त क्षेत्रमा पर्ने बताइएको छ ।

हालै गएको हिमपहिरोले डोरी टाँग्ने टोलीलाई समेत प्रभावित पारिसकेको छ । असोज आठ र नौ गतेदेखि नेपालमा अर्को ठूलो मौसमी प्रणाली भित्रिने सम्भावना रहेकाले आरोही लैजाने कम्पनीहले यस यामको मनास्लु आरोहण प्रयास यहीँ अन्त्य गर्ने कठिन निर्णय लिएका छन् ।

विश्वको आठौँ अग्लो मनास्लु आरोहण गर्न यो सिजनमा सधैँभन्दा धेरै करिब पाँचसय आरोहीले अनुमति लिएका थिए । पाँचसय जना नेपाली उच्च हिमाली गाईड र सहयोगी कर्मचारी मनास्लुमा आएका थिए ।

गत वर्ष ४१० जनाले अनुमति लिएका थिए भने यस वर्ष ४९३ जनाले त्यो अनुमति पाएका छन् । अघिल्लो वर्ष विभिन्न ६७ देशका ४१ समूहका अरोहीबाट सरकारलाई रु २२ करोड ४८ लाख १४ हजार राजस्व आम्दानी भएको छ । (रासस)

सम्बन्धित समाचार