नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असोज।

दक्षिण एसियाभर फरक तर एकअर्कासँग अन्तरसम्बन्धित कृत्रिम लागुऔषध बजार रहेको एक अध्ययनले देखाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) ले सोमबार सार्वजनिक गरेको क्षेत्रीय प्रतिवेदनले दक्षिण एसियामा कृत्रिम लागुऔषधका बजार फरक–फरक तरिकाले विकसित भइरहेको औँल्याएको हो ।
लागुऔषधका पदार्थको पहिचान, घटनालाई आपसमा जोड्ने, अवैध आम्दानीको स्रोत पत्ता लगाउने तथा सहकार्य सुदृढ गर्ने विषय यस क्षेत्रका मुलुकले साझा चुनौती सामना गरिरहेका प्रतिवेदनमा उल्लेख छ । बङ्गलादेश, माल्दिभ्स, नेपाल र श्रीलङ्काको अवस्थाबारे गरिएको मूल्याङ्कनमा आधारित नयाँ युएनओडिसी क्षेत्रीय प्रतिवेदनले यस्तो देखाएको हो ।
‘दक्षिण एसिया केन्द्रमाः कृत्रिम लागुऔषध तथा पूर्ववर्ती पदार्थका प्रवृत्तिहरू’ शीर्षकको प्रतिवेदनले देशअनुसार फरक–फरक अवस्था रहेको देखाएको छ । प्रतिवेदनअनुसार बङ्गलादेशमा ठूलो परिमाणको याबा (एक प्रकारको अवैध लागुऔषध) बजार स्थापित छ ।
नेपालमा नियन्त्रणमा रहेका औषधिहरूको अवैध ओसारपसार महत्त्वपूर्ण चुनौतीका रूपमा रहेको छ । माल्दिभ्स समुद्री, हवाई, हुलाक तथा कुरियर मार्गमार्फत कृत्रिम लागुऔषधको जोखिममा छ भने श्रीलङ्कामा मेथाम्फेटामिन बढ्दो रूपमा प्रमुख बनेको छ ।
सो अवसरमा दक्षिण एसियाका लागि युएनओडिसी क्षेत्रीय प्रतिनिधि क्रिस्टियन हुल्गेले आपराधिक सञ्जालले मार्ग र सीमापार गतिविधिअनुसार आफूलाई अनुकूल बनाइरहेका उल्लेख गर्दै नियन्त्रणका लागि अझ बलियो पूर्वसूचना, फरेन्सिक तथा अनुसन्धान क्षमता, राम्रो सूचना आदानप्रदान र क्षेत्रीय सहकार्य आवश्यक रहेको बताउनुभयो ।
नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक उपप्रमुख विल्बर्ट भोनले लागुऔषध तस्करी विरुद्धको लडाइँमा अन्तरराष्ट्रिय तथा क्षेत्रीय सहकार्य अत्यावश्यक रहेको बताउनुभयो ।
चार देश फरक बजार अवस्था
प्रतिवेदनले नेपालमा ट्रामाडोल, ट्यापेन्टाडोल, बेन्जोडायजेपिन र कोडिनलगायत नियन्त्रणमा रहेका औषधिको सीमापार आवागमन तथा अवैध वितरणलाई प्रमुख विषयका रूपमा औँल्याएको छ ।
ती पदार्थ स्थलमार्ग, यात्रु तथा कार्गो माध्यम र हुलाक तथा कुरियर सेवामार्फत बारम्बार ओसारपसार हुने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । फेब्रुअरी २०२५ मा काठमाडौँमा गरिएको एउटा कारबाहीका क्रममा पाँच लाख ६४ हजार १०० ट्रामाडोल ट्याब्लेट बरामद गरिएको थियो ।
त्यस्तै बङ्गलादेशमा कृत्रिम लागुऔषधको अवस्था स्थापित याबा बजार, ठूलो अनुमानित आन्तरिक माग तथा म्यानमारसँग जोडिएको सीमाबाट भित्री भूभाग, तटीय क्षेत्र, हवाई तथा पार्सल प्रणालीसम्म फैलिएका तस्करी मार्गबाट भएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय रूपमा रिपोर्ट गरिएका याबा÷एम्फेटामिन–प्रकारका उत्तेजक ट्याब्लेट बरामद सन् २०२४ मा तीव्र गिरावट आए पनि सन् २०२५ मा बढेर चार करोड ३५ लाख ६२ हजार ८११ ट्याब्लेट पुगेको थियो ।
यसैगरी माल्दिभ्समा समुद्री, हवाई, हुलाक तथा कुरियर माध्यमबाट कृत्रिम लागुऔषध फेला पर्ने गरेको छ । प्रतिवेदनअनुसार माल्दिभ्समा बरामद सन् २०२३ मा २५.२७ किलोग्रामबाट बढेर २०२४ मा ३८.३१ किलोग्राम पुगेको थियो भने जनवरी–जुन २०२५ सम्म १६.०४ किलोग्राम बरामद भएको थियो ।
श्रीलङ्काका राष्ट्रिय निकायले सामना गर्ने कृत्रिम लागुऔषधमध्ये मेथाम्फेटामिन अहिले प्रमुख बनेको छ । सन् २०२५ मा मेथाम्फेटामिनसम्बन्धी पक्राउ ९२ हजार ६५० पुगेको थियो, जुन कूल लागुऔषधसम्बन्धी पक्राउको ३५.३ प्रतिशत हो ।
मूल्याङ्कनले ठूलो परिमाणको लागुऔषध ओसारपसारका लागि समुद्री मार्ग मुख्य माध्यम रहेको र हवाई यात्रु, हुलाक तथा कुरियर माध्यमबाट पनि साना परिमाणमा फेला पर्ने गरेको उल्लेख गरेको छ ।
प्रतिवेदन सार्वजनिक समारोहमा नेपालका लागि श्रीलंकाका राजदूत रुवन्थी डेल्पिटियाको, लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, बिम्स्टेक सचिवालयका प्रमुख विशेषज्ञ डाइयान इब्न हसन सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमाणलाई व्यवहारमा रूपान्तरण गर्न सहयोग गर्ने युएनओडिसीका तीन वटा पूरक ज्ञान सम्बन्धि सामग्री समेत प्रस्तुत गरिएको थियो ।
