बूढानीलकण्ठबाट बरामद सुनको तौल २१ किलो, मूल्य ५४ करोड

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालबाट बिहीबार प्रहरीले बरामद गरेको सुनको तौल २१ किलो ७५० दशमलव ६८ ग्राम रहेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उक्त सुन हालको बजार मूल्य रु ५४ करोड ६० लाख सात हजार ३२० रहेको जानकारी दिइएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्याह्न माथिल्लो भङ्गालस्थित चिनियाँ नागरिकले भाडामा लिएको एक घरबाट उक्त सुन बरामद गरेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, झोउ लङछिन्ङ र छु क्यान रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार सुन बरामद भएको घर सुन तस्करीमा संलग्न समूहले गत साउनदेखि भाडामा लिएको पाइएको छ। उक्त घरको मासिक भाडा रु तीन लाख ३० हजार निर्धारण गरिएको थियो । तस्कर समूहले घरधनीलाई चार महिनाको भाडा अग्रिम भुक्तानी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तस्कर समूहले अर्धठोस अवस्थामा सुन ल्याएर बूढानीलकण्ठस्थित घरमा प्रशोधन गरी बिस्कुट आकारका ढिका बनाउने गरेको पाइएको छ ।

प्रहरीले सुन प्रशोधनमा प्रयोग गरिने उच्च तापक्रमयुक्त भट्टी, डिजिटल तराजु, विभिन्न मेसिन तथा उपकरणसमेत बरामद गरेको छ । साथै, सुन तस्करीमा प्रयोग गरिएको बिवाइडी गाडी पनि नियन्त्रणमा लिइएको वरिष्ठ प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार प्रशोधन गरिएको सुन लिएर गाडीमा बाहिर निस्कँदै गर्दा चिनियाँ नागरिकहरूलाई नियन्त्रणमा लिइएको हो । उक्त गाडी तस्कर समूहले भाडामा लिएर प्रयोग गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बरामद सुन, गाडी र अन्य सामग्रीसहित पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार