नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ असोज।

भोटेकोशी बाढीबाट प्रभावितलाई छ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ ।
नेपाल वातावरण पत्रकार समूहले बुधबार काठमाडौँमा आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी आवास निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताउनुभयो ।
बाढी प्रभावित रसुवा, नुवाकोट, गोरखा र धादिङका पाँच हजार ११६ परिवारलाई स्थायी बसोबासको व्यवस्था गर्नुअघि अस्थायी आवास निर्माण गरिने बताउनुभयो ।
सरकारले बाढीपीडित परिवारलाई पाँच महिनासम्म मासिक रु १५ हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । चार जनाभन्दा बढी सदस्य भएका परिवारलाई प्रत्येक थप सदस्यका लागि रु दुई हजारका दरले थप रकम उपलब्ध गराइनेछ ।
प्रभावित परिवारलाई आगामी तीन महिनाका लागि रु ४५ हजारका दरले आर्थिक सहायता उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाइएको उहाँले बताउनुभयो ।
इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक सञ्जय उप्रेतीले पुनःस्थापनाका क्रममा विपद् तथा इन्जिनियरिङ पक्षसँगै सामाजिक, आर्थिक र सांस्कृतिक पक्षलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
टिमुरेकी स्थानीय छेदिन डोल्माले बाढीपछिको मानसिक त्रासबाट आफूहरू अझै मुक्त हुन नसकेको बताउनुभयो । स्थानीय नामग्याल घलेले आफूहरू पूर्ण रूपमा विस्थापित भएको र अब कहाँ जाने भन्ने टुङ्गो नभएको बताउनुभयो ।
टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक फूर्वु दोर्जेले बाढीमा विद्यालयका १० विद्यार्थी बेपत्ता भएको र भवन पूर्ण रूपमा नष्ट भएकाले आगामी दिनमा विद्यालय सञ्चालन तथा शैक्षिक वातावरणबारे अन्योल रहेको बताउनुभयो ।
रसुवाका पत्रकार निराजन पौडेलले बाढीमा आफ्ना आमाबुवासहित परिवारका पाँच सदस्य गुमाएको र बाढी आएको ५० दिन बितिसक्दा पनि राहत नपाएको गुनासो गर्नुभयो ।
