नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ कार्तिक।

नेपालकी प्रथम महिला सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा र प्रकृतिसँगको मानव सम्बन्धलाई विश्वमाझ चिनाउन कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कुकुर तिहार, २०८३ को अवसरमा प्रथम महिला काफ्लेले आज यहाँ आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा पशुपंक्षी तथा प्रकृतिप्रतिको सम्मान र संरक्षण गर्ने विशिष्ट परम्परा रहेको हाम्रा चाडपर्व र संस्कृतिलाई अन्तरराष्ट्रियकरण गरी प्रर्वद्धन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले कुकुर तिहारलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई पशुप्रतिको प्रेम, निष्ठा, करुणा र सहअस्तित्वको सन्देश दिने अवसरका रूपमा विश्वमाझ पुर्याउनुपर्ने बताउनुभयो ।
विश्वभर कुकुरप्रतिको प्रेम र आकर्षण बढिरहेको विश्व परिवेशमा कुकुरको पूजा गर्ने मुलुकको विशिष्ट सांस्कृतिक परम्परालाई नेपालले अन्तरराष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न सक्ने उहाँको भनाइ थियो ।
“कुकुर तिहारलाई अन्तरराष्ट्रियकरण गर्नु हाम्रो एउटा प्रमुख उद्देश्य हो । कुकुरप्रतिको प्रेम र सम्मानका साथै पूजा गर्ने हाम्रो मौलिक परम्पराको सन्देश नेपालबाट विश्वभर पुर्याउन चाहन्छौँ”, प्रथम महिला काफ्लेले भन्नुभयो ।
उहाँले कुकुर तिहारलाई एक दिनको उत्सवका रुपमा मात्र सीमित नगरी वर्षभरि नै पशु कल्याणका पक्षमा विविध गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुकुरको उचित व्यवस्थापन, खोप, स्वास्थ्य उपचार तथा उनीहरूप्रति गरिने व्यवहारमा समेत एकरुपतासहित जिम्मेवारी बोध गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
श्रीमती काफ्लेले नेपालका चाडपर्वमा प्रकृति र जीवजन्तुप्रतिको सम्मान झल्कने अनेकौँ मौलिक अभ्यास रहेको उल्लेख गर्दै कुकुर तिहारसँगै काग पूजा, गाई पूजा, नाग पूजा, नेवार समुदायको म्हः पूजा र छठ पर्वलाई पनि अन्तरराष्ट्रियस्तरमा प्रर्वद्धन गर्नुपर्ने धारणा राख्नुभयो । वर्षा नभएका बेला भ्यागुताको विवाह गराउने परम्परासमेत प्रकृति र मानवबीचको सम्बन्धको उदाहरण भएको उहाँको भनाइ थियो ।
‘डिजिटल’ युगमा मानिसबीचको सम्बन्ध र मानव तथा प्रकृतिबीचको निकटता कमजोर हुँदै गइरहेको उल्लेख गर्दै उहाँले नेपाली मौलिक चाडपर्वले प्रकृतिसँगको सम्बन्ध पुनः स्थापित गर्ने सन्देश दिन सक्ने बताउनुभयो ।
कार्यक्रममार्फत कुकुर तिहारलाई विश्वव्यापी रूपमा प्रर्वद्धन गर्न ‘फ्रम नेपाल विथ पज’, ‘डेज अफ द डग्स’, ‘भिजिट नेपाल डग स्टे’, ‘लभ योर डग्स एभ्री डे’ र ‘कुकुर तिहार नेपाल’ लगायतका ह्यासट्यागसमेत सार्वजनिक गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले नीति निर्माण तहका पदाधिकारी, सांसद, स्थानीय तहका जनप्रतिनिधि, कलाकार, सामग्री उत्पादक, अन्तरराष्ट्रिय सञ्चारमाध्यम तथा विभिन्न देशका राजदूतलाई नेपालको यस मौलिक परम्पराको प्रचारप्रसारमा सहयोग गर्न आग्रह गर्नुभयो ।
“हाम्रा चाडपर्वमा प्रकृति र मानवबीचको सम्बन्ध जोड्ने धेरै अद्वितीय पक्ष छन् । ती पक्षलाई विश्वभर पुर्याउन सबैको साझा प्रयास आवश्यक छ”, उहाँले भन्नुभयो ।
त्यस अवसरमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई वर्षको एक दिन पूजा गर्ने धार्मिक परम्परामा मात्र सीमित नराखी पशुप्रति वर्षभरि करुणा, माया र जिम्मेवारी देखाउनुपर्ने बताउनुभयो ।
उहाँले पशु कल्याण र मानव स्वास्थ्य एकअर्काका पूरक विषय भएको उल्लेख गर्दै ‘एक स्वास्थ्य अवधारणा’अन्तर्गत रेबिज नियन्त्रण, खोप, बन्ध्याकरण तथा जिम्मेवार पशुपालनका लागि सरकार, स्थानीय तह र सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
मन्त्री चौधरीले कुकुर तिहारलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउन नेपाली दूतावास, विदेशमा रहेका नेपाली समुदाय, पर्यटन प्रर्वद्धन गर्ने निकाय तथा अन्तरराष्ट्रिय पशु कल्याणसम्बन्धी संस्थासँग सहकार्य गर्न सकिने बताउनुभयो । यसबाट नेपालको मौलिक संस्कृति र सांस्कृतिक पर्यटन प्रर्वद्धनमा समेत योगदान पुग्ने उहाँको भनाइ थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कुकुर र मानिसको सम्बन्धको विषयमा चर्चा गर्दै ककुर तिहारको विशेष महत्व रहेको बताउनुभयो ।
“कुकुर र मानिसको सम्बन्ध सुरुआतदेखि नै रहँदै आएको छ, हाम्रा धर्म, संस्कृतिमा पनि कुकुरको विशेष महत्व रहँदै आएको छ, हाम्रा धर्मग्रन्थमा पनि कुकुरको महत्व उल्लेख छ”, उहाँले भन्नुभयो ।
त्यस अवसरमा सबिना काफ्लेले बिन्दु नामक कुकुरको पूजा गर्नुभयो । साथै कलाकारहरु बसुन्धरा भुसाल, भुवन भन्द, मिथिला शर्माले सशस्त्र प्रहरीको केनाइन युनिटमा तालिमप्राप्त कुकुर ‘साम्बा’लाई विशेष सम्मान गर्नुभएको थियो । कुकुर तिहारको अवसरमा सहभागीहरुले आफ्ना कुकुरहरुको पनि पूजा गर्नुभएको थियो । (रासस)

