पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा

पाराग्वेको बैंकिङ सङ्कट र आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले पूर्वराष्ट्रपति सान्टियागो पेनाको घरमा छापा मारेको छ । युएनो बैंकको पतनसँग जोडिएको यस प्रकरणमा पदबाट हटाइएका पेनाविरुद्ध आपराधिक अभियोगसमेत लगाइएको छ ।

अधिकारीहरूले गत साता पाराग्वेको लोकप्रिय अनलाइन ऋणदाता युएनो बैंक नियन्त्रणमा लिएका थिए । उक्त बैंकमा देशका करिब ६५ लाख जनसङ्ख्यामध्ये झन्डै आधाको खाता रहेको थियो भने सरकारी निकायको ८० करोड अमेरिकी डलरभन्दा बढी रकमसमेत जम्मा थियो । बैंकको पतनपछि देशभर विरोध प्रदर्शन भएको थियो ।

सन् २०२३ मा राष्ट्रपति बन्नुभएका पेनाले गत वर्षसम्म बैंकको होल्डिङ कम्पनी युएनो होल्डिङमा सेयर स्वामित्व राख्नुभएको थियो । उहाँमाथि राष्ट्रपतीय प्रभाव प्रयोग गरी बैंकमा सरकारी निक्षेप जम्मा गराएको तथा वित्तीय अनियमितता र शङ्कास्पद ऋणका विषयमा जानकारी हुँदाहुँदै पनि समस्या लुकाएको आरोप छ ।

अभियोजकहरूका अनुसार सरकारी निकायबाट निक्षेप सङ्कलन गरिरहेको युएनो बैंकले बैंकका उच्च अधिकारीसँग सम्बन्धित कम्पनीहरूलाई शङ्कास्पद ऋणसमेत प्रवाह गरेको थियो । यही प्रकरणको अनुसन्धानका क्रममा असुनसियोनबाहिर रहेको पेनाको निवासमा छापा मारिएको हो ।

अभियोगपत्रमा सन् २०२४ मा घर निर्माणका लागि पेनाले युएनो बैंकबाट दुईपटक गरी पाँच लाख अमेरिकी डलर ऋण लिनुभएको उल्लेख छ । उहाँको मासिक घरकर्जा किस्ता ३८ हजार अमेरिकी डलर रहेको र यो राष्ट्रपतिका रूपमा प्राप्त गर्ने मासिक तलबको छ गुणा भएको अभियोगपत्रमा जनाइएको छ ।

सिनेटले गत शुक्रबार पेनालाई पदबाट हटाउने निर्णय गरेपछि उपराष्ट्रपति पेद्रो एलियानाले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले आइतबार बैंक धराशायी भएपछि निक्षेप रोकिएका १२ लाख ग्राहकको रकम सरकारले फिर्ता गरेको जानकारी दिनुभयो ।

हालसम्म करिब १५ करोड ८० लाख अमेरिकी डलर फिर्ता गरिएको र बाँकी रकम वितरणको काम यसै साता पनि जारी रहने एलियानाले बताउनुभएको छ ।(रासस/एएफपी)

सम्बन्धित समाचार