विद्यालयीकरणको चपेटामा प्रारम्भिक बाल विकास र बालशिक्षा  

प्रारम्भिक बाल विकास र बाल शिक्षा (इसिइडी) को प्राथमिक ध्येय बालबालिकाको सर्वाङ्गीण (शारीरिक, संवेगात्मक, सामाजिक, भाषिक तथा संज्ञानात्मक) उन्नति हासिल गराउनु हो । यस्तो विकास पाठ्यपुस्तक कण्ठ पार्ने परिपाटीबाट नभई खेल, जिज्ञासा, स्वतन्त्र खोज र स्नेहमय अन्तरक्रियाद्वारा सम्भव हुन्छ । यद्यपि, नेपालमा विगत दुई दशकयता इसिइडीका कार्यक्रमहरू तीव्र रूपमा विद्यालयीकरण (स्कुलिफिकेशन)को सिकार बनिरहेका छन् ।

विद्यालयीकरण भन्नाले प्रारम्भिक बाल्यकालको सिकाइ परिवेशलाई औपचारिक विद्यालयको साँचोमा ढाली डेस्क–बेन्च, किताब–कापी, गृहकार्य एवं परीक्षातर्फ मोड्ने अनि बालबालिकाको प्राकृतिक खेल, सिर्जनशीलता र बालसुलभतालाई पाखा लगाउने अभ्यास हो । हामीले विभिन्न मञ्चहरूमा यस विद्यालयीकरण र औपचारिक विद्यालयजस्तो बनाउने प्रवृत्तिप्रति निरन्तर ध्यानाकर्षण गराउँदै यसले इसिइडीलाई केबल ‘विद्यालय प्रवेशको तयारी’ मा सीमित तुल्याएको कुरा प्रस्ट पार्दै आएका छौँ ।

बाल्यकाललाई वयस्क जीवनको तयारीका रूपमा मात्र बुझ्नु हुँदैन । बाल्यकाल आफैँमा पूर्ण, अर्थपूर्ण र अधिकारसम्पन्न जीवनको अवस्था हो । त्यसैले इसिइडीको सफलता बालबालिकाले कति अक्षर चिने, कति शब्द लेखे वा कति गणितीय प्रश्न हल गरे भन्ने आधारमा मात्र मापन गर्न सकिँदैन । उनीहरू कति सुरक्षित, आत्मविश्वासी, जिज्ञासु, सिर्जनशील, आत्मनिर्भर र सामाजिक रूपमा सक्रिय बने भन्ने कुरा उत्तिकै महत्वपूर्ण हुन्छ । यस अर्थमा बाल्यकालको संरक्षण, सम्मान र प्रर्वद्र्धन इसिइडीको शैक्षिक मात्र नभई नैतिक, सामाजिक र अधिकारसम्बन्धी दायित्व पनि हो ।

 विद्यालयीकरणका स्वरूपहरू



विद्यालय तयारी (स्कुल रेडिनेस) र विद्यालयीकरण (स्कुलिफिकेसन) समानार्थ अवधारणा होइनन् । विद्यालय तयारी भन्नाले बालबालिका विद्यालय प्रवेश गर्दा आवश्यक पर्ने आधारभूत शारीरिक, सामाजिक, संवेगात्मक, भाषिक तथा संज्ञानात्मक क्षमताको समग्र विकासलाई बुझिन्छ । यसको विपरीत विद्यालयीकरणले प्रारम्भिक बाल्यकालकै सिकाइलाई औपचारिक विद्यालयको पाठ्यक्रम, समयतालिका, अनुशासन, परीक्षा र उपलब्धिमुखी प्रतिस्पर्धाको ढाँचामा सीमित गर्छ । वास्तविक विद्यालय तयारी बालबालिकालाई विद्यालयको दबाबअनुसार ढाल्नु होइन, विद्यालयलाई बालबालिकाको विकासात्मक आवश्यकता र विविधता (डिएपी) अनुसार तयार गर्नु हो । नेपालमा विद्यालयीकरण चार प्रमुख स्वरूपहरूमा प्रकट भएको पाइन्छ ।

 क. स्थानीय सांस्कृतिक तथा सामाजिक सन्दर्भ  

यसमा आयातित मोडेलहरूको अन्धाधुन्ध प्रयोगलाई लिन सकिन्छ । विशेषगरी विकसित भनिएका शैक्षिक प्रणालीबाट सीधै अनुकरण गरिएका प्रि–स्कुल र तथा कथित ‘इन्टरनेसनल’ पाठ्यक्रमहरूलाई नेपाली भाषा, स्थानीय परिवेश, मौलिक संस्कृति र बालबालिकाको दैनिक जीवन जगतसँग जोड्ने कुनै गम्भीर प्रयास नगरी तिनिहरूलाई अँगाल्ने प्रवृत्ति व्यापक रूपमा बढेको छ । यसले इसिइडीलाई बालबालिकाको स्वाभाविक विकासको माध्यम बनाउनुको सट्टा एउटा ‘आयातित परियोजना’ मा सीमित गरिदिएको छ ।

 ख. औपचारिक शैक्षिक सामग्रीको अत्यधिक प्रयोग

चार वर्षभन्दा कम उमेरका साना बालबालिकाका लागि पनि पाठ्यपुस्तक, अभ्यास पुस्तिका, कापी र निरन्तरको लेखन अभ्यासलाई अनिवार्य बनाउने प्रवृत्ति व्यापक छ । यस उमेरमा बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुद, चित्रकला, कथा गायन तथा सामाजिक अन्तरक्रिया मुख्य माध्यम हुनुपर्नेमा थ्री आर (पढ्ने, लेख्ने र गणितीय गणना गर्ने) लाई नै सिकाइको मुख्य मानक मान्ने गरिएको छ । यसले गर्दा बालबालिकाको स्वाभाविक जिज्ञासा, सिर्जनशीलता र मौलिक सोच कुण्ठित हुन पुगेको छ ।

 ग. कक्षा संरचना र मूल्याङ्कनको अत्यधिक विद्यालयीकृत ढाँचा

प्रारम्भिक बाल विकास र बालशिक्षा केन्द्रहरूमा पनि साना बालबालिकालाई उमेर (अनुकूल खुला तथा लचिलो वातावरण दिनुको सट्टा औपचारिक विद्यालय जस्तै कडा कक्षा संरचनामा बाँध्ने गरिएको पाइन्छ । विद्यालयकृत बेन्च डेस्कको संरचनाले उनीहरूको शारीरिक तथा प्राकृतिक सिकाइको चाहनालाई पूर्णरूपमा नियन्त्रण गर्छ ।

 घ. कानुनी व्यवस्था

नेपालको विद्यमान कानुनी व्यवस्थाले चार वर्ष उमेर पूरा गरेका बालबालिकाका लागि कम्तीमा एक वर्षको प्रारम्भिक बाल विकास तथा शिक्षा सुनिश्चित गरेको छ । राष्ट्रिय प्रारम्भिक बाल विकास रणनीति, २०७७–२०८८ ले गर्भावस्थादेखि आठ वर्षसम्मको अवधिलाई समेट्दै स्वास्थ्य, पोषण, सुरक्षा, संरक्षण, हेरचाह र प्रारम्भिक सिकाइलाई एकीकृत रूपमा हेरेको छ । यस सन्दर्भमा चार वर्षभन्दा कम उमेरका बालबालिकाका लागि आवश्यक विकास अनुकूल हेरचाह (केयर) सुरक्षित वातावरण, पोषण, खेल र सामाजिक अन्तरक्रियाका अवसरहरूलाई पनि राज्यको नीतिगत जिम्मेवारीभित्र समेटिनुपर्छ ।

विशेषगरी घरबाहिर काम गर्ने अभिभावक, न्यून आय भएका परिवार र जोखिममा रहेका समुदायका बालबालिकाका लागि गुणस्तरीय बाल हेरचाह केन्द्रको व्यवस्था आवश्यक छ । यसरी (इसिइडी) लाई एक वर्षको विद्यालय प्रवेशपूर्व कार्यक्रमका रूपमा मात्र नभई जन्मदेखि आठ वर्षसम्मको निरन्तर र एकीकृत विकास प्रक्रियासँग जोडेर बुझ्नुपर्छ । एकीकृत विकासको दृष्टिकोणलाई बेवास्ता गरी अधिकांश अभिभावकहरूमा ‘जति धेरै वर्ष पढाउन सकियो र जति छिटो औपचारिक कापी–कलम समात्न लगाइयो, उति नै राम्रो इसिइडी हुन्छ’ भन्ने गलत धारणा व्याप्त छ । अभिभावकको यही मानसिकताले प्रारम्भिक बाल विकासलाई एउटा गलत शिक्षा परियोजनना (मिसएजुकेशन प्रोजेक्ट) मा परिणत गरिएको छ ।

विद्यालयीकरणलाई अभिभावकको व्यक्तिगत चाहना वा विद्यालयको शिक्षण अभ्यासमा मात्र सीमित गरेर बुझ्नु पनि पर्याप्त हुँदैन । यो नेपालको शिक्षा प्रणालीभित्र विकसित हुँदै गएको एउटा संरचनागत समस्या पनि हो । निजी शैक्षिक संस्थाहरूबीचको प्रतिस्पर्धा, अङ्ग्रेजी माध्यमप्रतिको सामाजिक आकर्षण, छिटो शैक्षिक उपलब्धि देखाउने दबाब, व्यावसायिक पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीको बजार र प्रारम्भिक बाल शिक्षामा प्रभावकारी नियमनको अभावले विद्यालयीकरणलाई थप संस्थागत बनाएका छन् । यसरी बाल्यकाल क्रमशः शैक्षिक प्रतिस्पर्धा र उपभोगको वस्तुमा रूपान्तरण हुने जोखिम बढेको छ । त्यसैले विद्यालयीकरणको समाधानका लागि अभिभावक सचेतना मात्र पर्याप्त हुँदैन, शिक्षा प्रणाली, संस्थागत अभ्यास, नियमन र बजार संरचनामा समेत परिवर्तन आवश्यक छ ।

विद्यालयीकरणका गम्भीर प्रभावहरू

विद्यालयीकरणले प्रारम्भिक बाल विकासका लक्ष्यहरूलाई विकृत मात्र गरेको छैन, यसले बालबालिकाको विकासमै दीर्घकालीन मुख्यगरी निम्न नकारात्मक असर पु¥याएको देखिन्छः

 संज्ञानात्मक र सामाजिक–संवेगात्मक विकासमा नकारात्मक असर

नेपाली इसिइडीका सन्दर्भमा विद्यालयीकरण मुख्यतया चार स्वरूपमा प्रकट भएको पाइन्छ । पहिलो, रैथाने ज्ञान र स्थानीय परिवेशलाई बेवास्ता गर्दै पश्चिमा तथा आयातित प्रि–स्कुल मोडेलहरूको अन्धाधुन्ध प्रयोग गर्नु । दोस्रो, चार वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि घोकाउने र औपचारिक कापी किताब तथा गृहकार्यको भार थोपर्नु । तेस्रो, कक्षा संरचना, शिक्षक–केन्द्रित कण्ठा गर्ने शिक्षण विधि र प्राप्ताङ्कमा आधारित नतिजामुखी मूल्याङ्कन ढाँचा अँगाल्नु । चौथो, अतिरिक्त व्यापारिक कक्षाहरू सञ्चालन गरी प्रारम्भिक बाल शिक्षाको मानमर्दन गर्नु ।

तनाव र मनोवैज्ञानिक भार

प्रारम्भिक बाल्यकालमा बालबालिकामाथि थोपरिने अत्यधिक विद्यालयीकरणले उनीहरूको मानसिक र मनोवैज्ञानिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पारिरहेको छ । साना बालबालिकाले छिटो अक्षर चिन्नु, अङ्ग्रेजी बोल्नु वा धेरै हिसाब गर्नुलाई नै उत्कृष्ट बाल विकास मान्ने गलत धारणाका कारण विद्यालयहरू पनि कण्ठ गर्ने प्रणाली र विधि अपनाउन बाध्य छन् । सरकारले पनि सही पैरवी र स्रोतको व्यवस्था गर्न उदासिन रहँदा यो क्षेत्रको सही विकास भएको देखिन्न । पाँच वर्ष वा सोभन्दा कम उमेरका साना बालबालिकालाई उनीहरूको विकासक्रम अनुकूल नहुने गरी ‘कक्षा १’ वा सोभन्दा माथिल्लो तहको कठिन पाठ्यक्रम घोकाउने, दैनिक कापी–कलममा सीमित गराई अनिवार्य गृहकार्य दिने र लिखित परीक्षाको सामना गर्न बाध्य पारिँदा उनीहरूमा निरन्तरको चिन्ता, मानसिक तनाव र असफलताको डर पैदा हुन्छ ।

 दबाब र असमानताको विस्तार

इसिइडीमा देखिएको अत्यधिक विद्यालयीकरणले बालबालिकाको समग्र मानसिक स्वास्थ्य, संवेगात्मक विकास र सामाजिक सम्बन्धहरूमा गम्भीर असर पारिरहेको छ । साना बालबालिकालाई उनीहरूको उमेर र क्षमताभन्दा माथिल्लोस्तरको औपचारिक पाठ्यक्रम घोकाउने, दैनिक गृहकार्यको बोझ थोपर्ने तथा लिखित परीक्षाको सामना गर्न बाध्य पारिने अभ्यासले उनीहरूमा मानसिक तनाव र चिन्ता सिर्जना गर्दछ ।

प्रारम्भिक बालविकासमा सरकारको कम लगानीले एक प्रकारको विषम अवस्था उत्पन्न भएको छ । आर्थिक रूपमा विपन्न परिवारका बालबालिका महँगा निजी प्रि–स्कुलको प्रतिस्पर्धामा पछि पर्ने अवस्था सिर्जना हुन्छ । ठिकै शुल्क लिएर चलाइएका निजी, सामुदायिक र धेरै शुल्क असुल्ने (इसिइडी) केन्द्रहरूबीचको शुल्कमा भएको खाडलले प्रारम्भिक वर्षदेखि नै सामाजिक विभाजनलाई संस्थागत गर्न सक्छ । इसिइडी क्षेत्रमा सरकारले लगानी बढाई स्रोतको सुनिश्चितताका साथ गरिब परिवारका बच्चाहरूका लागि गुणस्तरीय इसिइडीको व्यवस्था गर्नु जरूरी छ ।

 सांस्कृतिक विरासत र भाषिक पहिचानको क्षय

विद्यालयीकृत इसिइडीले नेपाली र मातृभाषा, लोककथा, स्थानीय खेल र सामुदायिक ज्ञान प्रणालीलाई पाठ्यक्रमबाट बाहिर पार्दै लगेको छ । साना बालबालिकालाई उनीहरूको मौलिक परिवेशबाट टाढा राखेर आयातित, अङ्ग्रेजी माध्यम वा औपचारिक ढाँचाका विषयवस्तु घोकाउनाले उनीहरू आफ्नै भाषिक जग र सांस्कृतिक पहिचानबाट विमुख हुने खतरा बढेको छ । बालबालिकाले मातृभाषा वा स्थानीय भाषामार्फत अभिव्यक्ति व्यक्त गर्ने प्राकृतिक अवसर नपाउँदा उनीहरूको भाषिक सामथ्र्य, मौलिक शब्दावली र अभिव्यक्ति क्षमतामा सङ्कुचन आउँछ ।

यसैगरी, हाम्रा रैथाने लोककथा, गीतिकथा र हजुरआमा हजुरबाबाले सुनाउने परम्परागत दन्त्यकथाहरू ओझेलमा पर्दै गएका छन् । यी लोककथाहरू केबल मनोरञ्जनका साधन मात्र नभई जीवनमूल्य, नैतिकता र सामाजिक दायित्व हस्तान्तरण गर्ने महत्वपूर्ण माध्यम थिए । साथै, घुर्रा, डन्डीबियो, चङ्गा, गट्टा, र चुङ्गीजस्ता स्थानीय तथा परम्परागत खेलहरूले बालबालिकाको शारीरिक सुगठन, सामूहिक भावना, सहकार्य र सामाजिक सीपको विकासमा महत्वपूर्ण योगदान पुर्याउँथे । यसका साथै, स्थानीय कालीगढ, किसानहरूले प्रयोग गर्ने व्यावहारिक एवं सामुदायिक ज्ञान प्रणालीलाई समेत ओझेल पारिएको छ ।

 कार्यक्रम बढ्दै, गुणस्तर खस्कँदै

नेपालमा विगत केही दशकयता इसिइडी कार्यक्रमहरूको सङ्ख्यात्मक विस्तार व्यापक रूपमा भएको छ । सार्वजनिक तथा निजी दुवै क्षेत्रबाट बाल विकास केन्द्र तथा प्रि–स्कुलहरूको पहुँच गाउँ–गाउँसम्म पुगेको छ । जति–जति कार्यक्रमहरूको विस्तार हुँदैछ, उति–उति बाल शिक्षाको मौलिक मर्म र गुणस्तर भने खस्कँदो अवस्थामा पुगेको छ । विशेष गरी शिक्षा ऐनको आठौँ संशोधनपश्चात् प्रारम्भिक बाल विकास केन्द्रहरूलाई औपचारिक विद्यालय ढाँचाभित्र समायोजन गरियो ।

नेपालको प्रारम्भिक बाल विकास तथा शिक्षाको वर्तमान अवस्थाले पहुँच र गुणस्तरबीचको अन्तरलाई पनि उजागर गर्छ । युनिसेफको ‘स्कुल रेडिनेस रिपोर्ट’मा प्रस्तुत शैक्षिक वर्ष २०२३÷२४ को तथ्याङ्कअनुसार नेपालमा ४० हजार ६८४ प्रारम्भिक बाल विकास केन्द्र तथा पूर्वप्राथमिक कक्षाहरू सञ्चालनमा थिए । तीमध्ये ८१.२ प्रतिशत सरकारी वा सामुदायिक र १८.७ प्रतिशत निजी क्षेत्रबाट सञ्चालित थिए । यसै अवधिमा प्रारम्भिक बाल शिक्षाको कुल भर्नादर ९९.९ प्रतिशत पुगेको देखिन्छ तर उच्च भर्नादरले मात्र बालबालिकाले प्राप्त गरिरहेको सिकाइको गुणस्तर, अनुभव र विकासात्मक अवसर सुनिश्चित गर्दैन ।

तीन चार वर्षका बालबालिकालाई कापी कलम समात्न लगाएर अक्षर र अङ्क घोकाउने, गृहकार्यको बोझ दिने र लिखित परीक्षाका आधारमा मूल्याङ्कन गर्ने विकृत परिपाटीले व्यापकता पाएको छ । यसले अब नेपालको इसिइडी बहस पहुँच विस्तारबाट गुणस्तरीय, समावेशी, अर्थपूर्ण र विकासअनुकूल सिकाइ अनुभवतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखाउँछ ।

स्नातकदेखि विद्यावारिधिसम्मको संरचना

यस विरोधाभासलाई चिर्ने प्रण गर्दै निजी, सामुदायिक र सरकारी पक्षसँगको सहकार्यमा काठमाडौँ विश्वविद्यालयको शिक्षा सङ्काय (कुसोड) ले इसिइडीमा स्नातकदेखि विद्यावारिधिसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ । यसको मुख्य उद्देश्य पश्चिमा वा आयातित अभ्यासहरू र विद्यालयीकरणलाई चुनौती दिँदै नेपालको स्थानीय, सांस्कृतिक तथा सामाजिकसन्दर्भ अनुकूल इसिइडीको विकास गर्नु हो ।

गएको तीन वर्षमा कुसोड अन्तर्गतको समावेशी शिक्षा, प्रारम्भिक बाल विकास तथा व्यावसायिक अध्ययन विभाग (डिआइइपी) ले (इसिइडी) मा स्नातकदेखि विद्यावारिधिसम्मको एउटा पूर्ण शैक्षिक सोपान निर्माण गरेको छ । यसअन्तर्गत पिएचडी, इएमफिल, स्नातकोत्तर (१ र २ वर्षे), पिजिडी, ब्रिज कोर्ष र स्नातक ( ४ वर्षे) जस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालनमा रहेका छन्न् । यसका अतिरिक्त भर्खरै युनेस्को चेयर अन्तर्गत (इसिइडी) लगायत अन्य विषयमा पोस्टडक्टरल कार्यक्रमको घोषणा पनि गरिसिकिएको छ ।

कुसोडमा हाम्रा अनुसन्धानहरूमा प्रारम्भिक बाल्यकालमा विद्यालयीकरणको प्रभावले स्वाभाविक प्राकृतिक खेल, जिज्ञासा र सर्वाङ्गीण विकासलाई प्राथमिकता दिनुको सट्टा सिकाइ परिवेशलाई औपचारिक विद्यालयको साँचोमा ढाल्ने अभ्यासलाई परेको असर के कस्तो छ भन्ने छ । अनुसन्धानको अर्काे पक्ष अत्यधिक गृहकार्य र प्राप्ताङ्कमा आधारित नतिजामुखी दबाबले बालबालिकामा कलिलै उमेरमा मानसिक तनाव, चिन्ता र असफलताको भय कसरी पैदा गराउँछ भन्ने हो । नेपाली लोककथा, स्थानीय खेल र मातृभाषा ओझेलमा पर्दा भाषिक तथा सांस्कृतिक पहिचानको क्षय भइरहेको कुरालाई अनुसन्धानको लागि विषय बनाइएको छ ।

 नेपाल–केन्द्रित इसिइडीका लागि तीन आधारभूत रणनीति

विद्यालयीकरणलाई परास्त गर्न र नेपाल केन्द्रित प्रारम्भिक बाल विकास तथा प्रारम्भिक बाल शिक्षा निर्माण गर्न निम्न तीनवटा अन्तरसम्बन्धित रणनीतिहरू आवश्यक पर्दछन्ः

 क. खेल–आधारित, बाल–नेतृत्व र स्थानीय सन्दर्भमा आधारित सिकाइ

इसिइडीका लगि तयार पाठ्यपुस्तकको ठाउँमा कथा, गीत, स्थानीय खेल, बालुवा–पानीको खेल, र प्रकृति–अन्वेषणले भरिएको हुनुपर्छ । बालबालिकाले आफ्ना जिज्ञासाबाट सिक्न पाउनुपर्छ । शिक्षकको भूमिका निर्देशक होइन, सहजीकरणकर्ताको हुनुपर्छ। डिएपीले बालबालिकाको उमेर, विकासस्तर र सांस्कृतिक पृष्ठभूमिलाई सिकाइको केन्द्रमा राख्छ । यसका लागि शिक्षकहरूलाई मात्र होइन, अभिभावक र समुदायलाई समेत ‘खेल नै सिकाइ हो’ भन्ने कुरामा विश्वस्त बनाउनुपर्छ ।

 ख. स्थानीय ज्ञान र सांस्कृतिक सन्दर्भलाई पाठ्यक्रमको केन्द्रमा राख्ने

नेपाली समाजको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय यथार्थलाई इसिइडी पाठ्यक्रममा समेट्नुपर्छ । स्थानीय लोककथा, मौलिक खेल, चाडपर्व, र सामुदायिक ज्ञान प्रणालीलाई सिकाइ सामग्रीका रूपमा प्रयोग गर्दा बालबालिकाले आफ्नो पहिचानसँग जोडिएर सिक्न पाउँछन् । समुदायसँगको सहकार्यमा विकास गरिएको पाठ्यक्रमले यस दिशामा महत्वपूर्ण कोसेढुङ्गा प्रदान गरेको छ, तर यसलाई थप गहिरो बनाउँदै स्थानीयस्तरमा ‘नेपाली इसिइडी मोडेल’ विकास गर्नुपर्छ । हाम्रो अनुसन्धान कार्यक्रमले पनि इसिइडी पाठ्यक्रम विकास र कार्यान्वयनजस्ता विषयहरूलाई प्राथमिकता दिएको छ ।

 ग. नीतिगत सुधार, नियमन र अभिभावक सचेतना

प्रारम्भिक बाल विकासको तथा प्रारम्भिक बाल शिक्षाको उद्देश्य, खेलको महत्व, र औपचारिक पढाइको जोखिमबारे अभिभावक र समुदायमा व्यापक अभियान चलाउनुपर्छ । नीति निर्माताहरूले प्रारम्भिक बाल विकास तथा प्रारम्भिक बाल शिक्षालाई ‘प्राथमिक विद्यालयको तयारी’ होइन, ‘बालबालिकाको अधिकार’ का रूपमा हेर्नुपर्छ ।

 अनुसन्धान, अभ्यास र नीतिबीचको सम्बन्ध स्थापना

नेपाल–केन्द्रित इसिइडी निर्माणका लागि अनुसन्धानलाई शैक्षिक कार्यक्रमको सहायक गतिविधिका रूपमा मात्र नभई ज्ञान निर्माण र अभ्यास रूपान्तरणको आधारका रूपमा विकास गर्नुपर्छ । यसका लागि विभिन्न भौगोलिक, भाषिक, सांस्कृतिक र सामाजिक परिवेशमा बालबालिकाले कसरी सिक्छन्, खेल्छन्न् । सम्बन्ध निर्माण गर्छन् र आफ्नो संसारलाई अर्थ दिन्छन् भन्ने विषयमा निरन्तर अनुसन्धान आवश्यक छ । बालबालिका, अभिभावक, सहजकर्ता र समुदायका अनुभवलाई अनुसन्धानको केन्द्रमा राख्दै स्थानीय अभ्यासहरूको दस्तावेजीकरण, विश्लेषण र पुनःव्याख्या गर्नुपर्छ । अनुसन्धानबाट प्राप्त ज्ञानलाई पाठ्यक्रम विकास, शिक्षक तथा सहजकर्ता तयारी, अभिभावक शिक्षा र नीतिगत सुधारमा जोड्नुपर्छ ।

 बाल्यकाललाई फिर्ता दिने नैतिक दायित्व

विद्यालयीकरणले नेपालको इसिइडीलाई एउटा मौन सङ्कटमा पु¥याएको छ । यसले बाल्यकाललाई ‘हतार’ मा छोटो अवधिमा परिणत गर्दै छ, सिकाइको आनन्दलाई औपचारिकताको भारमा बदल्दै छ, र प्रारम्भिक वर्षदेखि नै गलत शिक्षाको जरा गाड्दैछ तर यो अवस्था अपरिवर्तनीय छैन । काठमाडौँ विश्वविद्यालयले इसिइडीमा स्नातकदेखि पोस्टडक्टरल कार्यक्रमहरू स्थापना गरेर, समुदायसँगको सहकार्यमा सन्दर्भमुखी पाठ्यक्रम विकास गरेर र विभिन्न मञ्चहरूबाट विद्यालयीकरणको आलोचनात्मक बहसलाई अगाडि बढाएर एउटा वैकल्पिक बाटो देखाउने प्रयत्न गरेको छ । यस दिशामा निजी, सरकारी र सामुदायिक क्षेत्रसँग सहकार्य गर्दै यो परिवर्तनको प्रकृयालाई व्यवहारमा उतार्ने इच्छाशक्ति, संस्थागत प्रतिबद्धता र सामुदायिक सहभागिताको आवश्यकता छ ।

(लेखकत्रय काठमाडौँ विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)  
(रासस)

सम्बन्धित समाचार