नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउनुपर्छ : मन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क तथा जनस्तरको आदानप्रदानमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासद्वारा बुधबार साँझ भारतको नयाँदिल्लीमा संयुक्त रूपमा आयोजित ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रममा मन्त्री पौडेलले नेपाल-भारत पर्यटन साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन पर्यटन क्षेत्र प्रभावकारी माध्यम बन्न सक्ने धारणा राख्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलले भन्नुभयो, “नेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशको कूटनीतिक सम्बन्धमा सीमित छैन । यो हाम्रो साझा संस्कृति, सभ्यता, आस्था र जनस्तरको आत्मीयतासँग जोडिएको छ ।

पर्यटनले यस सम्बन्धलाई अझ गहिरो बनाउने र दुवै देशका नागरिकबीचको सम्पर्क तथा आर्थिक अवसर विस्तार गर्ने महत्वपूर्ण भूमिका खेल्न सक्छ । नेपाल भारतीय पर्यटकलाई स्वागत गर्न सधैँ तयार छ ।”

मन्त्री पौडेलले नेपालका धार्मिक तथा आध्यात्मिक गन्तव्य, प्राकृतिक सम्पदा, साहसिक पर्यटन, सांस्कृतिक विविधता र स्वास्थ्य तथा आरोग्य पर्यटन भारतीय पर्यटकका लागि विशेष आकर्षण बन्न सक्ने उल्लेख गर्नुभयो । साथै, पर्यटन प्रवर्द्धनसँगै हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार, सहज आवागमन र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

कार्यक्रममा मन्त्री पौडेलले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग शिष्टाचार भेटवार्तासमेत गर्नुभएको छ । भेटमा नेपाल-भारतबीचको हवाई उड्डयन क्षेत्रको विकास, द्विपक्षीय सहकार्य विस्तार तथा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा सौहार्दपूर्ण छलफल भएको उहाँको सचिवालयले जनाएको छ । हवाई सम्पर्क विस्तारलाई पर्यटन आवागमन वृद्धि गर्ने महत्वपूर्ण आधारका रूपमा हेरिएको छ ।

कार्यक्रममा भारतका पर्यटन तथा संस्कृतिमन्त्री गजेन्द्र सिंह शेखावतले नेपाल र भारतबीचको पर्यटन सम्बन्ध तथा साझा सांस्कृतिक सम्पदाको महत्व उजागर गर्नुभयो । उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महाराजले पनि नेपाल र उत्तराखण्डबीच पर्यटन सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसहित भुटान, पोल्यान्ड र भियतनामका कूटनीतिक नियोगका प्रतिनिधिहरूले समेत ‘नेपाल कलिङ’ अभियानप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा भारतीय टुर अपरेटर सङ्घ (आइएटीओ) र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायत दुवै देशका पर्यटन क्षेत्रका प्रतिनिधिहरूको सहभागिताले निजी क्षेत्रबीच सहकार्य र नयाँ पर्यटन अवसर सिर्जना गर्ने सम्भावनालाई थप बल पुर्‍याएको छ ।(रासस)

सम्बन्धित समाचार