
प्रवासको भूमिमा रहेर पनि मातृभूमिको राजनीति र संगठनप्रतिको मोह उत्तिकै गहिरो हुन्छ। यसै क्रममा अस्ट्रेलियामा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताबीच पनि पार्टीको आन्तरिक राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।
नेपाली कांग्रेसभित्र देखिएको गुटगत राजनीतिको प्रभाव प्रवासमा समेत देखिएको छ। यसैक्रममा नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले अस्ट्रेलियास्थित नेपाली जनसम्पर्क समितिमा सुदीप (साइमन) मुडभरीको संयोजकत्वमा ५३ सदस्यीय पाँचौँ महाधिवेशन तयारी समिति गठन गरेको छ।
समितिलाई सबै पक्ष र विचारमा रहेका साथीहरूलाई समेट्दै महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। संगठनलाई थप सक्रिय, सुदृढ र एकताबद्ध बनाउने लक्ष्यसहित तयारीलाई तीव्रता दिइएको संयोजक मुडभरीले नवकान्तिपुरलाई बताएका छन्।
यसअघि गगन थापा पक्षले पनि अस्ट्रेलियामा छुट्टै महाधिवेशन तयारी समिति गठन गरिसकेको छ। यसले नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक प्रतिस्पर्धा प्रवासी नेपाली समुदायसम्म पनि विस्तार भएको संकेत गरेको छ।
तर संयोजक मुडभरीका लागि यो महाधिवेशन केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया मात्र होइन, संगठनबाट टाढिएका साथीहरूलाई पुनः जोड्ने, निष्क्रिय सदस्यहरूलाई सक्रिय बनाउने र आपसी विश्वास तथा एकताको नयाँ आधार तयार गर्ने अवसर पनि हो। संगठनभित्रको दूरी घटाउँदै सबैलाई समेटेर पाँचौँ महाधिवेशन सफल बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ छ।
नेविसंघबाट सुरु भएको राजनीतिक यात्रा, प्रवासमा पनि मातृभूमिको चिन्ता
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका मुडभरी युवा उमेरदेखि नै राजनीतिक चेतना, संगठनप्रतिको लगाव र सामाजिक सक्रियतामा रुचि राख्दै आएका व्यक्ति हुन्। समय र परिस्थितिले उनलाई सात समुद्रपारिको अस्ट्रेलियामा कर्मथलो बनाउने अवस्थामा पुर्याए पनि नेपालको राजनीति र मातृभूमिप्रतिको भावनात्मक सम्बन्ध भने टुटेको छैन।
विदेशमा रहेर आफ्नो कर्म र भविष्य निर्माण गरिरहँदा पनि देशको राजनीतिक अवस्था, जनताको अपेक्षा र मुलुकले भोगिरहेका विविध चुनौतीप्रति उनको चासो उत्तिकै छ। उनको बुझाइमा देशको समृद्धि केवल आर्थिक विकासले सम्भव हुँदैन, त्यसका लागि राजनीतिक संस्कार, नेतृत्वको इमानदारी र संगठनभित्रको शुद्धीकरण पनि अपरिहार्य छ।
मुडभरीको धारणा छ, देशले आज भोगिरहेका धेरै समस्या राजनीतिक अस्थिरता, नेतृत्वप्रतिको अविश्वास र राजनीतिक संस्कारमा देखिएको कमजोरीसँग जोडिएका छन्। त्यसैले राजनीतिमा सुधार र संगठनभित्र शुद्धीकरण नगरी समृद्ध नेपालको सपना साकार पार्न कठिन हुन्छ।
नेपाली कांग्रेसले हिजो लोकतन्त्र र राजनीतिक परिवर्तनका लागि खेलेको भूमिका स्मरण गर्दै उनले भोलिको समुन्नत नेपाल निर्माणमा पनि पार्टीको भूमिका महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरेका छन्। त्यसका लागि कांग्रेसले समयअनुसार आफूलाई परिमार्जन गर्दै जनताको विश्वास जित्न सक्नुपर्ने उनको बुझाइ छ।
प्रवासमा कर्म, मनमा मातृभूमि
विदेशको व्यस्त जीवन, आफ्नै संघर्ष र जिम्मेवारीबीच पनि मातृभूमिको भविष्यबारे सोचिरहनु प्रवासमा रहेका धेरै नेपालीको साझा भावना हो। भौगोलिक दूरीले मानिसलाई देशबाट टाढा पुर्याउन सक्छ, तर देशप्रतिको माया र जिम्मेवारीको भावनालाई टाढा बनाउन सक्दैन।
मुडभरीको राजनीतिक सक्रियतामा पनि यही भावना प्रतिविम्बित हुन्छ। अस्ट्रेलियालाई कर्मथलो बनाए पनि नेपालको राजनीतिक परिवर्तन, कांग्रेसको संगठनात्मक भविष्य र देशको समृद्धिप्रतिको चासोले उनलाई निरन्तर जोडिरहेको छ।
अब उनको नेतृत्वमा गठित ५३ सदस्यीय समितिका सामु सबैलाई समेटेर महाधिवेशन सम्पन्न गर्ने चुनौती र अवसर दुवै छन्। व्यक्तिगत प्रतिस्पर्धाभन्दा माथि उठेर संगठनको हित, आपसी सद्भाव र एकताको सन्देश दिन सके प्रवासमा रहेको नेपाली कांग्रेसको संगठनात्मक यात्राले नयाँ दिशा लिन सक्ने अपेक्षा गरिएको छ।

