प्रचण्डको आश्वासन : ‘गृहकार्य पुगेन, मिडिया विधेयक परिमार्जन हुन्छ’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढाइने बताएका छन् । प्रेस सङ्गठन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको उनले बताए ।

अध्यक्ष प्रचण्डले भने– ‘मिडिया विधेयकलाई पनि आवश्यक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ ।’ सरकारले विधेयक ल्याउँदा राम्रो तयारी नपुगेको भन्दै उनले भने– ‘जति गृहकार्य भएर विधेयक आउनु परथ्यो, केही कमी रहेको देखियो, पक्कै पनि सरकार र पार्टी यसमा सतर्क भएका छन् ।’ आउँदा दिनमा यस्ता विधेयक ल्याउँदा पर्याप्त गृहकार्य गरेर मात्रै ल्याइने समेत उनले बताए ।



सरकारको नेतृत्व परिवर्तनका सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा यो विषय नयाँ नभएको प्रतिक्रिया उनले भने– ‘मिडियामा बडो नयाँ कुराजस्तो गरी प्रचार भइरहेको छ, यो कुरा पुरानै हो, हामी जुन सहकार्य र सहमतिका साथ अघि बढेका छौं– त्यही अनुसार अघि बढ्छौं ।’

भरतपुरमा बन्न लागेको रङ्गशालामा सरकारले सहयोग गर्ने पनि उनले बताए । यस्ता रङ्गशालालाई सरकारले प्रोत्साहन गर्ने भनी आफैंले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट गरेर नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी उनले दिए । अध्यक्ष प्रचण्डले भने– ‘मैले त्यसरी नीति तथा कार्यक्रममा राख्नुको मनसाय चाहिँ चन्दाले मात्रै ठूला आयोजना नहुन सक्छन्, सरकारले सहयोग गर्नुपर्छ भन्ने नै हो ।’ रङ्गशालालाई सहयोग गर्ने सरकारको आधार तयार पारिएको उनले प्रष्ट पारे । ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ ले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार स्थानीयले भत्काएपछि हाल काम रोकिएको छ ।

पार्टी एकता प्रक्रियामा टुङ्गो लाग्न बाँकी रहेका जिल्ला इन्चार्ज–सहइञ्चार्ज, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, विभागहरु, आयोगहरुलगायतका काम एकै साथ प्याकेजमा टुङ्गो लाग्ने पनि अध्यक्ष दाहालले बताए । अर्को एक प्रश्नमा प्रदेश– ३ को अस्थायी राजधानीलाई नै कमसेकम पाँच वर्षका लागि त्यहीं कायम राख्ने कि भन्ने विषयमा छलफल भइरहेको जानकारी समेत उनले दिएको खबर राससले प्रेषित गरेको छ ।

सम्बन्धित समाचार