खाटा बस्न नसकेको घाउ

ढकाल काजीकी श्रीमतीलाई दीर्घरोग लागेपछि रोगी श्रीमतीकै सल्लाहबमोजिम उनी दोस्रो बिहेको लागि केटी खोज्न यत्रतत्र भौँतारिन थाले । तीन सन्तानका बाबुलाई जोसुकैले छोरी दिन मञ्जुर गरेनन्, सजिलै मञ्जुरी पाउने ठाउँमा काजीलाई पनि स्वीकार भएन । रूपवती, गुणवती र शीलवती केटीको खोजी कार्य जारी थियो । यसैक्रममा उनी एकदिन गौरादह भन्ने ठाउँमा पुगे र संयोगले गौरादहको बजारमा उनको माया पनि बस्यो । स्वयम् केटीसँग कुराकानी गर्ने अवसर पनि प्राप्त भयो । कुराकानीपछि दुबै पक्षबीच प्रारम्भिक सहमती भयो र केही दिनभित्र औपचारिक प्रस्ताव लिएर आउने कुरामा पुगेर काजी फुरुङ्ग हुँदै घर फर्के । काजीकी हुनेवाली सौभाग्यवतीको नाम थियो– अप्सरा अधिकारी । उनको नाम मात्र अप्सरा होइन, वास्तवमा उनी पुराणहरूमा वर्णित अप्सराजस्तै राम्री पनि थिइन् ।

ढकाल काजीका एकजना भिनाजु गौरादह बजारनजिक बस्थे । काजीले तिनै भिनाजुलाई लिएर अप्सराको हात माग्न जाने निर्णय गरे र एकदिन उनी सोमबारको साइत पारेर शिवगञ्जबाट साइकलमा सवार हुँदै गौरादह बजारतिर हानिए– आफूले मनपराएकी नयाँ दुलहीको टुङ्गो गर्न ।



वैशाख महिनाको झापाको गर्मीमा पनि साइकलको यात्रा गर्दै गौरादह पुगेको उनले पत्तै पाएनन् । नयाँ दुलही भित्र्याउने रङ्गिन कल्पनामा डुबेका काजीलाई बाटो काटेको पत्तै भएन । संयोगले भिनाजुसँग घरमा नै भेट भयो । साला–भेनाका बीच पहिले आराम–विरामका कुरा भए, त्यसपछि केही घरायसी कुराहरू पनि भए । केही क्षणको भूमिकापछि काजीले विषय प्रवेश गरे । सालाका कुरा सुनेर भिनाजु छक्क परे । उनी के भन्नु, के नभन्नुजस्तै भए । केही क्षण चिन्तामग्न भएर उनले निर्णय दिए– ‘भाइ, अप्सरासँग बिहे गर्ने इच्छा त्यागिदेऊ ।’

तस्विरमा लेखक एलपी पौड्याल

अब छक्क पर्ने पालो सालाको थियो । उनलाई भिनाजुले ठट्टा गरेझैँ लाग्यो । ‘अप्सरासँग बिहे गर्न किन नहुने र भिनाजु ? उनलाई मैले सबै कुरा खुलस्त भनेको छु । उनी राजी पनि भएकी छन् । राम्री पनि छन्, सुशील पनि छन् । जात पनि मिल्ने । अनि….?’ सालाले प्रतिवाद गर्न खोजे ।
भिनाजुले पनि आफ्नो ढिपी छाडेनन् । भने– ‘भाइ ! म तिम्रै हितका लागि भन्दैछु, अप्सरासँग बिहे गर्ने कुरालाई दिमागबाट निकाली देऊ । अन्तै प्रयास गर, बरू म पनि सहयोग गरौँला ।’

भिनाजुको बोली सालालाई बन्दुकको गोलीझैँ भयो । काजी पनि मान्नेवाला कहाँ थिए र ? उनले उल्टै भिनाजुमाथि नै शङ्का गरे । ‘अप्सरा अप्सराजस्तै सुन्दर छे । अप्सराको सुन्दरतामा मोहित भएर भिनाजुकै मन पनि त आशक्तिएको हुनसक्छ । आखिर भिनाजु पनि लोग्नेमान्छे नै त हुन् ।’ तर उनले प्रकट रूपमा चाहिँ भने ‘म त उनीसँग प्रभावित छु भिनाजु, उनीसँगै बिहे गर्ने निधो गरिसकेँ । भिनाजुलाई त्यस घरमा जान मन नलागेको भए बरू म एक्लै भए पनि जान्छु । भिनाजुलाई दुःख दिन्न ।’

सालाको जिद्दी स्वभावका अगाडि भिनाजुको केही लागेन । उनले मुख नखोली धर पाएनन् ।
भने– ‘भाइ, म गाउँघरकी चेलीबेटीको नकारात्मक कुरा गर्न चाहन्नथेँ तर तिमीले बाध्य बनायौ । सुन । अप्सराले हाई स्कुलमा पढ्दापढ्दै एउटा श्रेष्ठ थरको केटासँग भागी बिहे गरिन् । केही दिन रमाइलो गरेर घर फकिँदा केटाका बाबा–आमाले उसलाई बुहारीका रूपमा स्वीकार गर्न मानेनन् । केही वर्षसम्म त उनले संघर्ष गरेरै भए पनि त्यसै घरमा बसिन् तर उनको पनि केही लागेन । पछिल्लो अवस्थामा केटाले पनि खास्सै साथ दिएन । अन्ततः काखको छोरो च्यापेर उनी माइत आएर बस्न लागिन् । हाल छोरालाई आफ्नो मावल लगेर राखेकी छन् र उनी आफूचाहिँ नयाँ घरजम बसाउने सपना बुनेर बसेकी छन् । आखिर तिम्रो पनि दोस्रो नै बिहे हो भाइ, यति कुरा बुझेर पनि बिहे गर्छौ भने अप्सराको पनि कल्याण नै हुन्छ । तिम्रो मनले चाहेको र अप्सराले पनि पनि मञ्जुरी दिएको भए गर ।’ नचाहेर पनि भिनाजुले अप्सराको तीतो अतीतको रहस्योद्घाटन गरिदिए ।

प्रेमको गोली जहाँ लागे नि मुटुमै दुःख्छ भनेझैं भिनाजुको कुराले सालोको मुटुमा चट्याङ्ग पार्यो । उनको विश्वास डगमगायो । ‘त्यति राम्री केटी कसरी ….’ उनले त्यहाँ भन्दा बढी सोच्न पनि सकेनन् । उनी धेरैबेर रणभुल्लमा परे । के गरौँ वा के नगरौँको भुमरीमा परेझैँ भए । अझै पनि काजीलाई भिनाजुको कुरामा पूर्ण विश्वास भने हुन सकेको थिएन र पूरै अविश्वास गर्ने आँट पनि गर्न सकेनन् । अप्सरालाई उसले मनमनै कान्छी श्रीमतीका रूपमा स्वीकार गरी सकेका थिए, त्यसैले पनि उनको मन असीम पीडाले छट्पटायो । उनी अधैर्य भए । र, भिनाजुसँग घर फर्किन विदा मागेर हिँडे ।

तर खै कुन शक्तिले हो, काजीको साइकल अप्सराका घरतिर पो मोडियो । काजी अप्सराको घरमा पुग्दा उनी एक्लै घरधन्दा गर्दै गरेकी भेटिइन् । परैबाट अप्सरालाई हेर्दै उनले सोचे– यस्तो मिलेको शरीर, यति राम्री केटीलाई भिनाजुले के भनेको होला ? भिनाजुको कुरा असम्भव । भिनाजुले भनेकी अप्सरा नै यी होइनन्, या त भिनाजुलाई कुनै भ्रम पर्यो ।

मनमा अनेक तर्कना गर्दै काजीले अप्सराको घरको आँगनको एक छेउमा साइकल अड्याए । काजीलाई अचानक देखेर अप्सरा पनि खुसीले पुलकित भइन् । उनले स्वागतमा हँसिलो अनुहार पारेर दुबै हात जोड्दै नजिकै रहेको एउटा कुर्सीमा बस्न आग्रह गरिन् । काजीले पनि अप्सराको हार्दिकतापूर्र्ण स्वागत अभिवादन स्वीकार गर्दै कुर्सीमा बसे । त्यसपछि हल्का सङ्कोचसहित शिष्टाचारका कुराहरू प्रारम्भ भए । कुरा गर्दागर्दै पनि अप्सराले चिया पकाएर ल्याउन भ्याइन् । उनले एक कप काजीलाई दिइन् र अर्को कप आफूले लिएर काजीकै अगाडि रहेको अर्को कुर्सीमा लज्जावती झारझैँ भएर बसिन् । काजीले चोर आँखाले अप्सराको शरीरलाई पुनः एकपल्ट पूरै नापजाँच गरे र भिनाजुका सबै कुराहरू गलत भएको निष्कर्ष निकाले । तैपनि उनका मनमा रहेको एउटा सानो तुष भने मेटिएन । उनले नचाहँदा नचाहँदै पनि सोधे “अप्सरा, अन्यथा नमान्ने भए एउटा कुरा सोधौँ कि जस्तो लागेको छ । तर त्यो कुरा सत्य हुँदै होइन । तर पनि सुनेपछि…..” उनले वाक्य पुरा गर्न सकेनन् ।
‘भन्नोस् न के कुरा हो । मैले अन्यथा मान्ने कुरै छैन नि !’ अप्सरा बोलिन् ।
‘हुँदै नभएको कुरा हो । तैपनि…..’
‘भन्नोस् न, प्लिज… ।’
‘नरिसाऊ है त । मैले सुनेको कुरा मात्र हो ।’ काजीले लर्बराउँदै कुरा आरम्भ गरे ‘स्कुल पढ्दा–पढ्दै अन्तर्जातीय बिहे…..तीन चारवर्षको छोरो….अहिले मावलमा राखिएको….दोस्रो घरजम गर्न चाहेको……’ आदि । डराउँदै र असजिलो मान्दै काजीले भिनाजुबाट सुनेका सबै कुरा क्रमशः राखे र अन्त्यमा आफ्नोतर्फबाट थपे ‘मलाई विश्वास छ, यो कुरा हुँदै होइन तर पनि सुनेको कुरालाई तिमीबाटै अनुमति लिएर मात्र भनेकोे हो । कृपया नरिसाई यो कुरा सत्य होइन मात्र भनिदेऊ अप्सरा, त्यति भए मलाई पुग्छ । मलाई अरू कुनै प्रमाण जुटाउनु छैन ।’

अप्सराको उज्यालो र कान्तिमय मुहारमा एकाएक कालो बादल मडारिएजस्तो देखियो । उनी केही भावुक पनि देखिइन् । आँखाहरू भरिए । उनको यो परिवर्तित अनुहारले काजीलाई पनि केही दुःखी र चिन्तित बनायो । भिनाजुको कुरा सुनेर अप्सराको कोमल मनमा चोट पुर्याएकोमा ग्लानी महसुस भयो । वातावरणमा केही बेर मौनता छायो ।

केही क्षण दुबै निःशब्द । अन्ततः वातावरणको शून्यतालाई भङ्ग गर्दै अप्सराले विनम्रतापूर्वक भनिन् ‘छ्या हजुर पनि ! खाटा बस्न लागेको घाउलाई आज फेरि उप्काइदिनुभयो । चञ्चले बेलामा भएको एउटा सानो भूलको प्रायश्चित्त गर्न मान्छेलाई एउटा सिङ्गो जीवन पनि थोरै हुँदो रहेछ । मलाई हेरेर हजुर आफैं भन्नोस् न, हजुरको जीवन–साथी बनेर एउटा सामान्य घर–व्यवहार चलाउन के म अयोग्य देखिन्छु त ? जानेर नजानेर भएको एउटा सानो भूलले मेरो सिङ्गो जीवन नै समाप्त भयो त ? के म आफूलाई सच्याउने अवसर नै पाउँदिन त ?’

अप्सराले यसो भन्दैगर्दा काजी विस्फारित नजरले उनलाई नै हेर्दै थिए । उनको छाती ढक्क फुलेझैँ भयो । त्यही बेला अप्सराले अचानक ढकाल काजीका दुबै हातलाई समाइन् र अश्रुमिश्रित स्वरमा थपिन् ‘अपरिपक्व उमेरमा भावनामा बगेर भएको त्यो एउटा सानो घटनालाई बिर्सिदिनुहोस् प्लिज ! हजुरसँगको सह–यात्रामा म अरू कुनै कुराको कमी हुन दिने छैन ।’

सम्बन्धित समाचार