सुस्तावासीलाई आफ्नै वडा कार्यालय पुग्न सास्ती

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीलाई आफ्नै वडा कार्यालय भवन आउन सास्ती भोग्नुपर्ने बाध्यता रहँदै आएको छ । सङ्घीय संरचनाअनुसार सुस्तागाउँ, सुस्ता गाउँपालिका–५ मा पर्दछ । तर सुस्तामा भने वडा कार्यालय भवन छैन । नारायणी नदीपारि सो वडा कार्यालयको भवन पक्लिहवाको रामनगरमा छ ।

कार्यालय भवन आउन सुस्तागाउँदेखि करीब दुई घण्टासम्म लाग्ने गर्दछ । विशेषगरी सहज यातायातको पहुँच नहुँदा सुस्तावासी नारायणी नदीमा डुङ्गाको प्रयोग गरेर आउनुपर्ने अथवा भारतीय भूमि हुँदै नेपाल प्रवेश गरेर सो वडामा पुग्न करीब दुई घण्टा लाग्ने अवस्था छ ।



सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा नारामै सीमित भएको र सुस्तावासीले वडा कार्यालय पुग्नसमेत निकै सास्ती भोग्नुपर्ने अवस्था रहेको सुस्ता बचाऊ अभियानका अध्यक्ष गोपाल गुरुङ बताउछन् । नारायणी नदीमा डुङ्गाको यात्राबाहेक भारतको बाटो हुँदै नेपाल पुग्नुपर्ने बाध्यता छ । यसअगावै पटक–पटक भारतीय सुरक्षाकर्मीको चरम दुव्र्यवहार हुने गरेका कारण अधिकांश सुस्तावासी भारतीय भूमि हुँदै नेपाल जाने गर्दैनन् ।

नारायणी नदीमा डुङ्गाको जोखिमपूर्ण यात्राका कारण वडा कार्यालय आउन पनि सुस्तावासीलाई निकै सास्ती भोग्नुपर्ने बाध्यता छ । आफ्नै वडा कार्यालय भवन पक्लिहवा जान नारायणी नदीमा पुल नभएकाले वर्षाको समयमा जोखिमपूर्ण डुङ्गा तरेर आउन पनि निकै समस्या भएको सुस्ता बचाऊ अभियानका उपाध्यक्ष आदम खाँ बताउछन्।

वर्षाको समयमा नारायणी नदीमा पानी बढेर डुङ्गासमेत नचल्ने अवस्था हुन्छ । नारायणी नदीमा पुल निमार्णको काम शुरु भए पनि बीचैमा अधुरो रहेको अवस्था छ । अहिलेसम्म पुल निर्माणकार्य पूरा हुन नसक्दा दैनिकरूपमा चाहिने सामानका लागि सुस्तावासी भारतीय बजार जान बाध्य छन् ।

निर्माणाधीन झोलुङ्गे पुल चाँडै सम्पन्न गर्ने कार्यमा गाउँपालिका लागिपरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे बताउछन् । यद्यपि सुस्तावासीले नारायणी नदीमा पुल बन्ने आस अहिलेसम्म मारेका छैनन् । दुई सय ६५ घरधुरी रहेको सुस्तामा करीब दुई हजार ५०० जनसङ्ख्या छ ।

सम्बन्धित समाचार