एक महीनादेखि ओढारमा बास

ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, बीचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यही ओढारमा अत्यन्त टीठ लाग्दो अवस्थामा भेटिन्छन् ६५ वर्षीय हिराबहादुर पूर्जा ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङका हिराबहादुर विगत एक महीनादेखि ओढारमा बस्दै आएका छन् । घरजग्गा केही नभएका ‘सुकुम्वासी’ पूर्जा यसअघि आफ्ना दाजु लोदे पुर्जासँगै तिप्ल्याङमा अर्कैको घरको एउटा कोठामा बस्थे ।



८० वर्षीय दाजु लोदेसँग झगडा भएपछि उनी गत जेठको अन्तिम सातादेखि ओढारमा बस्न थालेकाे रघुगङ्गा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनले जानकारी दिए ।

वडा सदस्य गौचनका अनुसार गाउँमा उनीहरुको सम्पत्तिको नाममा एक टुक्रा जग्गा र एउटा छाप्रो समेत छैन । न त उनीहरुको नाता सम्बन्धीहरु नै छन् गाउँमा । कहाँबाट आएर कहिलेदेखि यी दुई भाई गाउँमा बस्न थालेका हुन् भन्ने कुराको जानकारी समेत गाउँलेलाई छैन । गाउँका वृद्धवृद्धाहरुबाट उनीहरु गाउँमा देखिएको ५० वर्षभन्दा बढी भएको आफूले जानकारी पाएको वडा सदस्य गौचन बताउछन् ।

‘गाउँमा न उनीहरुका कोही आफन्ति छन्, न त सम्पत्ति छ’ उनले भने, ‘उनीहरुको आफन्तको बारेमा पत्ता लगाउन हामीले धेरै कोशिस गर्याैँ, तर पत्ता लगाउन सकिएन ।’

उनका अनुसार पहिला-पहिला दुई भाइले गाउँमा ज्याला मजदूरी गरेर खाने गर्थे । दाजु लोदे (वास्तविक नाम थाहा हुन नसकेको)ले काम गर्न नसक्ने भएपछि उनीहरुको विजोग भएको हो । जेठसम्म दुई भाई एउटै कोठामा बस्थे । पछि उनीहरुको बीचमा झगडा भएपछि भाई हिराबहादुर त्यहाँबाट निस्केर खेतको कुनापट्टी रहेको ओढारमा बस्न थालेका थिए ।

गाउँपालिकामा यी दुई भाईको व्यवस्थापन गर्ने विषयमा छलफल भएको र उनीहरुलाई बासस्थानका लागि सार्वजनिक जग्गामा भए पनि घर बनाइदिने विषयमा सबै सहमत भएको वडाध्यक्ष बीलबहादुर फगामीले बताए ।

उनीहरुलाई अहिले तत्कालै रु एक लाख खर्च गरेर बस्ने बास र खाने चिजहरुको व्यवस्था गर्नुका साथै भाई हिराबहादुर पूर्जाको नागरिकताको आधारमा दाजु लोदे पूर्जाको पनि नागरिकता बनाइदिने निर्णय भएको वडाध्यक्ष फगामीले जानकारी दिए ।

सम्बन्धित समाचार