मन्त्रिपरिषद् बैठक : केन्द्रीय सरकारले घाइतेको उपचारको सम्पूर्ण व्यवस्था मिलाउने

सरकारले अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई आवश्यक राहत उपलब्ध गराउने र घाइतेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित सबै निकाय तथा जनशक्ति परिचालित भई तत्काल अत्यावश्यक राहतका कार्य तदारुकताका साथ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।



बैठकले घाइतेको उपचारको सम्पूर्ण व्यवस्था सरकारले मिलाउने निर्णय गरेको जानकारी दिँदै उनले घाइतेको उपचारमा कुनै कमीकमजोरी हुन नदिने, घाइते भई अपाङ्ग तथा अशक्त हुने र मृतकका परिवारका सदस्यलाई सरकारले यथोचित व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले बताए ।

मन्त्री बाँस्कोटाले भने, ‘प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलिन नदिन औषधि उपकरणसहित थप स्वास्थ्यकर्मीको टोली तुरुन्तै परिचालन गर्ने, विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत्, खानेपानी, सञ्चारलगायतका अत्यावश्यक सेवा सुचारु बनाउन र थप क्षति हुन नदिन सम्बन्धित निकायले पूर्ण सतर्कता अपनाउने एवं आवश्यक कदम चाल्ने बैठकले निर्णय गरेको छ ।’

केही दिनदेखि भइरहेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षति, यातायात, सञ्चार र विद्युत् सेवा अवरुद्ध हुनुका साथै जनजीवन प्राभावित भएको छ । सो घटनामा परी मुलुकका विभिन्न स्थानमा हालसम्म ५१ जनाको मृत्यु, ३१ जना बेपत्ता, २८ जना घाइते, १० हजार ३८५ घरुधुरी विस्थापित र ठूलो मात्रामा आर्थिक क्षति भएको सरकारले जनाएको छ ।

बैठकले उक्त दुःखद् घटनामा परी ज्यान गुमाउने मृतकप्रति श्रद्धासुमन अर्पण गर्दै शोक प्रकट गर्ने, प्रभावित शोकसन्तप्त परिवानजनप्रति गहिरो समवेदना प्रकट गर्ने तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ ।

त्यस्तै यातायात आवागमनलाई सुचारु गर्न रक्षा, गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समन्वय गरी आवश्यक र सम्भव कदम चाल्ने, उद्धार र राहतलगायत कार्यमा आवश्यक सहयोग पु¥याउन जनप्रतिनिधिलाई आग्रह गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए । बैठकले यस दुःखद् परिस्थितिमा सबै सरकारी निकाय, निजी क्षेत्र सामाजिक क्षेत्र तथा गैरसरकारी सङ्घसंस्थालाई समन्वयात्मक रुपमा परिचालन गरी विपद् प्रभावितको उद्धार राहत, उपचार एवं खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयको समन्वयमा विपद्बाट भएको क्षतिको विवरण यथाशीघ्र तयार गर्ने, मूल्याङ्कन गर्ने, तथ्य र विवरणसहितको यथार्थ परिस्थिति स्पष्ट भइसकेपछि पुनःस्थापना तथा पुनःनिर्माणलगायतका आवश्यक विषयका सम्बन्धमा थप आवश्यक निर्णय गरिने उनले बताए । बैठकले घटनालगत्तै उद्धार र हेरविचार गर्ने, राहत उपलब्ध गराउने, अस्पताल तथा स्वास्थ्य संस्थामा पुर्याउन सहयोग गर्ने, उपचार गर्ने, सुरक्षा दिने, समाचार सम्प्रेषण गर्नेलगायतका कार्यमा स्वतस्फूर्त परिचालित भई सहयोग गर्ने सरोकारवाला सबैलाई सरकारका तर्फबाट धन्यवाद दिने निर्णय गरेको छ ।

सम्बन्धित समाचार