मुस्ताङका हिमपात पीडित कृषकलाई प्रदेश सरकारको ४९ लाख राहत

गत वर्षको हिउँदयाममा हिमपात र चिसोका कारण पशु चौपायाको क्षति भएर पीडित बनेका मुस्ताङका पशुपालक कृषकलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ ।

प्रदेश सरकारकोे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले असार २७ देखि २९ सम्म मुस्ताङका पाँचवटै गाउँपालिकाका पीडित ३ सय ७७ किसानलाई ४९ लाख २२ हजार ५० राहतस्वरुप वितरण गरेको मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले बताए । हिमपातले कृषकले पालेका भेँडा, च्याङ्ग्रा, याक, घोडालगायत घरपालुवा पशु चौपायको क्षति हुँदा कृषक पीडित बनेका थिए ।



मन्त्री लेखबहादुर थापामगर, मन्त्रालयका अधिकृत तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख सहितको टोलीले कृषकलाई राहत वितरण गरेको थियो । मन्त्रालयले क्षति भएको चौँरी गाई ठूलो प्रतिगोटा चार हजार, घोडा तीन हजार, गाई एक हजार ५०० तथा च्याङग्रा, भेडा, बाख्राको ९५० का दरले राहत वितरण गरेको दवाडीले जानकारी दिए ।

हिमपातले जिल्लामा सबैभन्दा बढी लोमान्था लोमान्थाङ गाउँपालिकामा क्षति पु¥याएको थियो । यहाँका २११ कृषकका दुई हजार ७६६ पशु चौपाया हिमपात र चिसोबाट मरेकाले उनीहरुलाई २८ लाख ९९ हजार ८५० राहत वितरण गरिएको छ ।

त्यस्तै थासाङ गाउँपालिकामा ७३ कृषकको ५८० पशु चौपाया क्षति भएकोमा पाँच लाख ९३ हजार ८५०, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा १३ कृषकलाई एक लाख ३३ हजार ५००, दामोदरकुण्ड गाउँपालिकामा ४८ कृषकलाई ६ लाख ७५ हजार ७५० तथा घरपझोङ गाउँपालिकामा ३२ कृषकलाई छ लाख १९ हजार १०० राहत वितरण गरिएको मन्त्री थापाले बताए ।

हिमपातले जिल्लाका ३७७ कृषक पीडित बनेका थिए । राहत वितरण गर्दै मन्त्री थापाले प्रदेश सरकार जनताको दुःखमा सधैँ साथमा रहेकाले राहत लिएर जनताको घरघरमा आएको बताए ।

प्राकृतिक विपद् एवं महामारीजन्य रोगबाट कृषि तथा पशुपक्षी उत्पादनमा क्षति पु¥याएमा प्रभावित कृषकलाई प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउने उद्देश्यले चालू वर्षको बजेट तथा कार्यक्रममा समावेश गरिएको आकस्मिक सेवा टेवा कार्यक्रममार्फत कृषकलाई सो सहयोग प्रदान गरिएको मन्त्री थापाले जानकारी दिए ।

हिमपातलगत्तै जिल्ला प्रशासन, कृषि मन्त्रालय तथा भेटेरीनरी अस्पताल म्याग्दीबाट स्थलगत अनुगमनमा गएको टोलीले सङ्कलन गरेको क्षतिको विवरण मूल्याङ्कन गरी कृषकलाई राहत प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार