कुलेखानीको पानी टर्वाइनबाट घटाइने, ड्याम नखोलिने

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका नखोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पानीको सतह बढेपछि फुट्ने खतरा कम गर्न खोल्ने भनेर गरिएको निर्णय रद्द गरिएको छ ।

ढोका खोल्नुको सट्टा सबै टर्वाइन घुमाएर विद्युत् निकालिने भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । उनका अनुसार तीन/चार दिनसम्मका लागि भारतबाट आपूर्ति भइरहेको विद्युत कटौती गरेर कुलेखानीको सबै टर्वाइन घुमाएर विद्युत निकालिनेछ ।



त्यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुमा पहिराले पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । गएराति आएको पहिरामा पुरिएर स्थानीय अन्दाजी ४५ वर्षीया कान्छीमाया बलामी र उनकी छोरी १८ वर्षीया बबिता बलामी बेपत्ता भएका थिए । उनीहरुको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पुरिएकाको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । पहिराले पुरिएर कान्छीमायाकी बुहारी अन्दाजी ३०–३२ वर्षीया बेली बलामी भने घाइते भएकी छिन् ।

बिहीबारदेखि भएको निरन्तर वर्षाका कारण बाढीपहिरामा परी मकवानपुरमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । मकवानपुरको इन्द्रसरोवरमा आइतबार राति घरमा लडेको पहिरामा परी स्थानीय आमाछोरी कान्छीमाया बलामी र उनकी छोरी १८ वर्षीया बबिता बलामीको शव सोमबार फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको हो ।

सम्बन्धित समाचार