देशभर सफाइ अभियान जारी

वाग्मतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी रहेको छ । वाग्मती सफाइ महाअभियानको ३२३औं हप्तामा बुद्धनगर पुल क्षेत्र मुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा २० संस्थाका ४०० भन्दाबढी अभियानकर्मीको सक्रियता थियो । तीनवटै सुरक्षा निकायकोसमेत सक्रियता रहेको सफाइबाट छ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । सफाइमा प्रदेश नं ३ की प्रदेशसभा सदस्य शोभा शाक्यको पनि सहभागिता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २८५औँ हप्तामा गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकालबारी सानो पुल क्षेत्रमा सफाइ गरियो । सफाइका क्रममा नदी थुन्ने गरी बगेर आएको काठलाई हटाइएको अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिए ।



सफाइका क्रममा कुहिने फोहरलाई नदी किनारमै खाडल खनेर पुरियो । नकुहिने फोहर भने व्यवस्थापन गरिएको थियो । वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा हुने यस क्षेत्रको सफाइमा आउनेले घरको फोहर आफैँ व्यवस्थापन गर्नुपर्ने शर्त राखिएको छ ।

विष्णुमती सफाइको २५०औँ हप्तामा नेपालटार शेषमती पुलबाट चारघरेसम्म सफाइ गरियो । चारघरे योग साधना केन्द्र, नेपाली सेनासहित २५० भन्दाबढी अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट दुई टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए ।

सफाइमा तारकेश्वर नगरपालिका वडा नं ११ का अध्यक्ष विन्दा बुढाथोकीलगायत जनप्रतिनिधि र स्थानीयवासीको पनि सफाइमा सक्रियता थियो । अर्को हप्ता यस क्षेत्रमा वृक्षरोपण गरिने जानकारी पनि संयोजक पाण्डेले दिए ।

वाग्मती सुन्दरीघाट सफाइको १३३औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चित्र सुनुवारले जानकारी दिए । सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

चक्रपथ सफाइको १२० हप्तामा नयाँबसपार्क आकाशेपुलबाट दायाँबायाँको क्षेत्रमा सफाइ गरियो । सफाइबाट आठ टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले राससलाई जानकारी दिए । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न संस्थाका गरी ६०० भन्दाबढी अभियानकर्मीको सक्रियता थियो ।

आलोकनगर सफाइको १२०औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३१ का विभिन्न क्षेत्रमा सफाइ गरियो । यस क्षेत्रको फोहर व्यवस्थापनका लागि वडा कार्यालयलाई एक महीनाअघि अनुरोध गरिएकामा ढल व्यवस्थापनलगायत काम नभएपछि अभियानले नै आजदेखि काम शुरु गरेको छ ।

यस क्षेत्रको वाग्मतीमा बनाइएको बाँध बस्तीमा प्रवेश गर्न थालेकाले अधिकार सम्पन्न वाग्मतीको ध्यानाकर्षण गराइएको जनाइएको छ । चक्रपथ सफाइ अभियान २०७१ को आयोजनामा माछापोखरीबाट गङ्गाहलसम्म १०१औँ हप्ताको सफाइ गरी दुई ट्रक फोहर व्यवस्थापन गरियो । सफाइका क्रममा नागरिक प्रहरी साझेदारीअन्तर्गत महानगरीय प्रहरीवृत्त बालाजुका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणासहित ५० जनाको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले राससलाई जानकारी दिए ।

काठमाडौँ महानगरपालिका वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालसहित स्थानीयवासी गरी ३०० भन्दाबढी अभियानकर्मीको सफाइमा सहभागिता थियो । मनोहरा सफाइको १२२ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरियो । स्थानीय संस्थासहित टोलवासीको सहभागितामा भएको सफाइबाट एक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिए ।

यसैगरी वाग्मतीको तिलगङ्गा क्षेत्रमा पनि आज सफाइ गरिएको थियो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानपछि उपत्यकालगायत देशभर सफाइ जागरण फैलिएको छ । हाल देशभरका १०५ भन्दाबढी स्थानमा सफाइ भइरहेको अभियानकर्मीले जनाएका छन् ।

सम्बन्धित समाचार