चीन र भारतजस्ता विकसित देशको बीचमा नेपाल सधैँ अविकसित रहन सक्दैन : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले सबै राष्ट्रसँग सन्तुलित सम्बन्ध राखेर आर्थिक विकासतर्फ अघि बढ्ने नीति अवलम्बन गरेको बताएका छन्। प्रवासको चौतारी नेपालले आज यहाँ आयोजना गरेको ‘नेपालको परराष्ट्रनीति–अर्थतन्त्रमा श्रम, समाज र संस्कृति’ विषयको विचारगोष्ठीमा उनले चीन र भारतजस्ता विकसित देशको बीचमा रहेर नेपाल सधैँ अविकसित रहन नसक्ने बताए । यी दुवै देशलाई छिमेकी अशान्त हुँदा नेपालले ‘तपाईं ढुक्कले निदाउन सक्नुहुन्न’ भन्दै आएको पनि उनले बताए ।

नेपालले आफूसँग भएको ‘सफ्ट पावर’(बौद्धदर्शन, योग आदि)को प्रयोग गर्नुपर्नेमा उनको जोड थियो । नेपालको परराष्ट्र नीति सबैसँग मित्रता, सबैसँग स्वीकार्यता र सबैसँग आत्मीयता’ का आधारमा अघि बढेको उनको भनाइ थियो । नेपाल विगतदेखि नै स्वतन्त्र, तटस्थ र असंलग्न राष्ट्रका रुपमा पहिचान बनाउँदै आएको र अहिलेसम्म पनि त्यसलाई निरन्तरता दिइरहेको उनले बताए ।



नेपाल विगतदेखि नै कुनै पनि ‘एलायन्स’ मा संलग्न नभएको र त्यसैका आधारमा पहिचान बनाएको उनले बताए । उनले भने, ‘विदेशमा रहेका नेपालीले त्यहाँ पुगेर पनि इमान्दार, मिहिनेती र अहिले आएर रचनात्मक भएर पनि चिनिएका छन् ।’

अर्को प्रसङ्गमा उनले वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउने र देशभित्रै रोजगारीको सिर्जना गर्ने दुवै कुरा सरकारको प्राथमिकतामा रहेको औँल्याए । वैदेशिक रोजगारीमा सकेसम्म दक्ष नसके कम्तीमा अर्धदक्ष कामदार पठाउने सरकारको योजना रहेको उनले बताए । देशमा रोजगारी बढाउन वैदेशिक लगानीका लागि सरकारले आह्वान गरिरहेको उनको भनाइ थियो ।

सम्बन्धित समाचार