चितवनमा खरेलको अध्यक्षतामा साइकल राइडर्स क्लब गठन

वातावरण संरक्षणका लागि जनचेतना जगाउने र साइकल चड्ने संस्कृतिलाई प्रबद्र्धन गर्ने उद्देश्य राखी चितवनमा हालै नवीन खरेलको अध्यक्षतामा ११ सदस्यीय साइकल राइडर्स क्लब गठन गरिएको छ ।

नवगठित क्लबको उपाध्यक्षमा पदमबहादुर बानिया, सचिवमा जनककुमार ढकाल, कोषाध्यक्षमा धर्मराज सापकोटा तथा सहसचिवमा रामचन्द्र सुवेदी चयन भएका छन् भने क्लबका सदस्यहरूमा सञ्जय श्रेष्ठ, रोशन पौडेल, पुरन सुवेदी, पञ्चु घले तथा रूक्मिणी सापकोटा घिमिरे चयन भएका छन् ।



निर्वाचन समितिका संयोजक निरञ्जन प्रधानको संयोजकत्वमा भएको उक्त भेलामा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका थिए । भेलामा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठलगायतको पनि उपस्थिति रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष खरेलले क्लबका भावी रणनीतिका बारेमा नवकान्तिपुरका संवाददातासँग भने ‘चितवन जिल्ला सानो भएर पनि विविधतापूर्ण छ । चारैतिर हरियाली छ । पर्यटकीय प्रबद्र्धनका हिसाबले यो जिल्ला महत्वपूर्ण जिल्ला सावित हुने भएकोले साइकल राइडिङका माध्यमबाट यसलाई थप प्रबद्र्धन गर्ने छौं । चितवन राष्ट्रिय निकुञ्जभित्र पनि साइकल राइडिङको व्यवस्था गर्दै छौं र त्यसका लागि सम्बन्धित निकायसँग अनुमति लिने कार्य हुँदैछ । साइकल राइडिङका लागि गेरेटो बाटो भए पुग्ने भएकोले तयारीका लागि गाह्रो हुने छैन तर सबैभन्दा ठूलो कुरा भनेको सुरक्षा चुनौती र यसको उचित व्यवस्थापनको मात्र हो ।’

अध्यक्ष खरेलले अगाडि भने ‘नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन २०२० को सेप्टेम्बर महिनामा नेपालमा तीनदिने साइकल सम्मेलनको आयोजना गर्दै छौं । यस सम्मेलनमा सहभागी हुन संसारभरिबाट करिब पन्द्र हजार साइकल यात्री आउने अनुमान गरेका छौं । यस सम्मेलनले विश्वभरि नेपालको नाम मात्र फैलने छैन, नेपाल एउटा नयाँ गन्तव्य मुलुकका रूपमा पुनः स्थापित हुने छ । यस्ता कार्यले नेपालको आर्थिक समृद्धिमा पनि ठूलो सघाउ पुग्ने मैले विश्वास लिएको छु ।’

सम्बन्धित समाचार