‘विप्लव समूहबाट वार्ताका लागि सरकारलाई कुनै प्रस्ताव आएको छैन’

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुकमा शान्तिसुरक्षा कायम राख्न गृह प्रशासन सफल रहेको बताएका छन् । आर्थिक वर्ष २०७५-७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशाबारे आज यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणका लागि शान्तिसुरक्षा मजबुत बनाउनुपर्ने बताए ।

‘देशमा राजनीतिक स्थायित्व र शान्तिसुरक्षालाई थप सुदृढ बनाउन गृह मन्त्रालय लागिरहेको छ’, उनले भने ।



गृहमन्त्री थापाले लामो समयपछिको राजनीतिक उपलब्धिको रक्षा गर्दै सङ्घीयतालाई थप सुदृढ बनाउन नेत्रविक्रम चन्द समूहबाट हुनसक्ने हिंसा नियन्त्रणमा सरकार लागेको स्पष्ट पारे । त्यस्तो हिंसात्मक कृयाकलाप नियन्त्रण गर्न हालसम्म ५०० भन्दा बढी सो समूहका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिइएको गरिएको उनको भनाइ थियो ।

मन्त्री थापाले वार्ताकै माध्यमबाट समस्या समाधान हुने भएकाले सरकारले उक्त समूहलाई वार्तामा आउन पटकपटक आग्रह गरेको उल्लेख गरे । ‘विप्लव समूहबाट वार्ताका लागि कुनै किसिमको प्रस्ताव सरकारलाई आएको छैन’, गृहमन्त्री थापाले भने ।

देशको राष्ट्रिय एकतालाई कायम राख्न सिके राउतको समूहलाई सरकारले मूलधारको राजनीतिमा ल्याउन सफल भएको उनको भनाइ थियो ।

गृहमन्त्री थापाले सीमा क्षेत्रमा हुने सुनलगायत अन्य सामानको तस्करी, मानव बेचबिखनलगायतका विकराल समस्या समाधानमा सरकार सफल रहेको स्पष्ट पारे । निर्मला हत्या प्रकरणलाई राजनीतिकरण गर्न खोजिएको बताउँदै उहाँले गृह प्रशासन, नागरिक समाज र पत्रकार मिलेर नै निर्मलाका हत्यारालाई खोज्नुपर्ने बताए ।

हत्यारा बलात्कारीलाई कानूनी कारवाहीमा ल्याउन नेपाल प्रहरी ९५ प्रतिशत सफल भए पनि केही घटना अनुसन्धानको चरणमा रहेको उनको भनाइ थियो ।

सम्बन्धित समाचार