व्यवसायीको अपहरणमा युवतीको प्रयोग, यस्तो छ घटनाको नालीबेली

झापाको विर्तामाड क्षेत्रमा शरीर बन्दक लगायतका विभिन्न अपराधिक कार्यमा सक्रिय रहँदै आएको गिरोहलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ । विर्तामोडका एक व्यवसायीलाई अपहरण गरी ४० लाख फिरौती माग गरेको घटनामा संलग्नहरूलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो ।

घटनाको सिलसिला यसरी शुरूभएको रहेछ



विर्तामोडका एक व्यवसायीको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ? व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा जोड्नि पुग्छन् उनीहरू । इमोमा माया, प्रेम हुँदै सेक्ससम्मका कुरा हुन थाल्छन् । त्यसपछि उनीहरू अश्लील भिडियो कल पनि गर्न पुग्छन् । उनीहरूको विश्वास यति छिटो बढेर जान्छ कि त्यो कसैले कल्पना समेत गर्न सक्दैन । एकअर्का बीचको विश्वसकै बीच उनीहरूमा भेट्ने कुरा हुन्छ । केटीले फोन गरेर व्यवसायीलाई आफू विर्तामोडको भद्रपुर रोड आइपुगेको जानकारी गराए लगत्तै व्यवसायी त्यहाँ पुग्छन् । करिब १९ वर्षकी ती युवती देखेपछि मख्ख परेका व्यवसायीले होटल जाने प्रस्ताव गर्छन् ।

किशोरीले होटलमा असुरक्षा हुने भन्दै साथीको कोठामा जान प्रस्ताव गर्छिन् । दुवै साथीको कोठमा पुग्दा त्यहाँ कोही हुँदैनन् । उनीहरू चुक्कुल लगाएर कोठामा बसेका हुन्छन् । त्यहीबेला नाटकीय शैलीमा एक युवाले ढोका ढक्ढक्याउँछ । भित्रबाट ढोका खोल्नेबित्तिकै हातमा छुरा बोकेका एक युवाले दुवै जनालाई गाली गर्दैै कुटपिट गर्न थाल्छ । त्यो युवा सञ्जु क्षेत्री भनिने सुजन शंकर हुन्छ । उसले ती व्यवसायीलाई उसको नजिकको साथी मिराज खानलाई फोन गरेर बोलाउन लगाउँछ । फोन गरेको केही समयमा नै मिराज खान नामका व्यक्ति त्यहाँ पुग्छ । सुजनले हातमा छुरा बोकेर तीनै जनालाई गाली गर्दै मिराजलाई केटीलाई छाडिदिन आदेश दिन्छ ।

मिराज, सञ्जु तथा किशोरी तीनैजनाको मिलेमतो हुन्छ तर व्यवसायीका अगाडि नाटक मात्र गरेका हुन्छन् ।
मिराज किशोरीलाई लिएर जान्छ र कुर्नै सुरक्षित स्थानसम्म पु¥याएर पुनः त्यही ठाँउमा आउँछ । त्यस बेलासम्ममा शंकरले ती व्यवसायीको नाङ्गो भिडियो तयार गरिसकेको हुन्छ । मिराज र व्यवसायी दुवै जनालाई सँगै राखेर शंकरले ५० लाख रूपैयाँको माग गर्छ । पैसा नदिए भिडियो सार्वजानिक गर्नुका साथै उसको लाश पनि गायब बनाउने धम्की दिन्छ ।

अपराधी कार्यमा संलग्न मिराज व्यवसायीका तर्फबाट बोलेझैँ गरी तत्काल ५० लाख दिन नसक्ने भन्दै ४० लाखसम्ममा मञ्जुरी जनाउन आग्रह गर्छ । सोही अनुसार साउन ५ गते आइतबारभित्र ४० लाख दिने सहमति गरेर उनीहरू त्यहाँबाट निस्किन्छन् । नाटकीय शैलीमा फसेका व्यवसायीको भोक निन्द्रा हराउँछ । त्यसको भोलिपल्टबाट व्यवसायीलाई रकम के हुँदैछ भन्ने फोनहरू लगातार आउन थाल्छ । मिराज आफूलाई पनि फोन आउने गरेको भन्दै व्यवसायीलाई छिटो रकम तयार गर्न आग्रह गर्छ । समय नजिकिएसँंगै आत्महत्यासम्मको सोच बनाएका ती व्यवसायी अन्ततः इलाका प्रहरी कार्यालय अनारमनीमा पुग्छन् र सबै घटना विवरण सुनाउँछन् ।

त्यसपछि लगत्तै प्रहरीले सक्रियताका साथ अनुसन्धान अगाडि बढाउँछ । आइतबार रकम नदिए लाश गायब बनाउने धम्की दिएकोले प्रहरीलाई व्यवसायीको सुरक्षा गर्न पनि जरूरी थियो भने अपराधी पक्राउ गर्नुपर्ने दायित्व पनि । आइटी सम्बन्धी राम्रो ज्ञान भएका इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले सक्रियताका साथ अनुसन्धानलाई अघि बढाउँछन् ।
प्रहरीले व्यवसायीलाई फोन आएका नम्बरहरूमा अनुसन्धान गर्दा सफलता हासिल नभएपछि मिराजलाई निगरानी बढाउँछन् । त्यस लगत्तै प्रहरीले सफलता नजिक पुग्छ । प्रहरीले साउन ४ गते शनिबार ४ बजे चारआलीबाट मिराजलाई पक्राउ गर्छ । मिराजसँंगै रहेका शंकर र उनका एक सहयोगीलाई पनि प्रहरीले एकै स्थानबाट पक्राउ गर्न सफल हुन्छ । त्यसको लगत्तै किशोरीको खोजी शुरू गरेको प्रहरीले इलाम घर भएकी किशोरीलाई विर्तामोडबाटै पक्राउ गर्छ ।

पत्रकार सम्मेलनमार्फत प्रहरीले दिएको थप जानकारी
विर्तामोड–४ कुमारी बैंक पछाडिको गल्लीमा घर भाडामा लिई व्यवसायी अपहरण गर्ने गिरोहका ४ जना व्यक्तिलाई पक्राउ गरेको इप्रका अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए । प्रहरीले विर्तामोड–४ मा मोटर साइकलको रिकण्डिशन पसल सञ्चालन गर्ने २९ वर्षीय मिराज खान, इलाम फाकफोकथुम – १ घर भई हाल विर्तामोड–२ चारपाने बस्ने २० वर्षीया रितु फियाक, दार्जिलिङको खोरीबारी ठेगाना बताउने २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन शंकर र बिर्तामोड–४ का २५ वर्षीय प्रकास दासलाई पक्राउ गरेको छ । अपहरणमा पर्ने फलफुल व्यवसायी हुन् । उनीसँग पैसा छ भन्ने जानकारी मिराज खानलाई मात्र थियो ।

जया खान नाम गरेकी किशोरीको असली नाम रितु फियाक हो । उनलाई अपहरणको घटनामा प्रयोग गरेको देखिन्छ । सो घटना भएको दिन उनलाई प्रकास दासले स्कुटरमा चारपाने पु¥याएका थिए । कुमारी बंंैक पछाडिको कोठासमेत दासले नै भाडामा लिएको प्रहरीको भनाइ छ । दासले नै व्यवसायीको नम्बर दिएर कुरा गर्न लगाएको घटनामा संलग्न किशोरीले बताएकी छन् ।

लागू औषधी पनि बरामद
प्रहरीले उनीहरूको साथबाट लागुऔषधी पनि बरामद गरेको छ । बा.१५ च ७३३९ नम्बरको कार सहित प्रहरीले स्कुफ लेखिएको १०० मि.लि को सिलप्याक ३ बोतल, प्रोप्रानोल १ पत्ता, निट्रोशन १ पत्ता, कालो बोतल १ थान उनीहरूको साथबाट बरामद भएको हो ।

फरार पनि पक्राउ
अपहरणको घटनामा संलग्न सञ्जु क्षेत्री भन्ने सुजन शंकर फरार अभियुक्त रहेको खुलासा भएको छ । ०७४ सालमा २ जना महिलालाई जवरजस्ती यौनधन्दामा लगाएकोले मानव बेचविखन तथा ओसारपसार मुद्दामा उनलाई जिल्ला अदालत झापाले १० वर्ष कैद सुनाएको थियो । शंकर अहिलेसम्म फरार थिए । शंकरको श्रीमती सुष्मा चौधरी पनि जिल्ला कारागार भद्रपुरमा कैद भुक्तान गरिरहेकी छन् । उनीहरूको कृषिथोकमा सेकुवा कर्नर थियो । सोही सेकुवा कर्नरमा यौनधन्दा चलाएको आरोपमा मानव बेचविखन मुद्दामा चौधरी कारागार चलान भएकी थिइन् ।

को हुन् मिराज खान
खान विर्तामोडका पुराना बासिन्दा हुन् । सामान्य परिवारका खानले पछिल्लो समय गरेको आर्थिक प्रगतिले जोकोहीलाई चकित पार्ने खालको छ । उनको बलियो आर्थिक स्रोत पनि त्यस्तो नरहेको जानकार बताउँछन् । विर्तामोडमा पछिल्लो समय पुराना मोटरसाइक बनाएर विक्री गर्न उनले रिकण्डिशनको व्यापार थालेका थिए । भद्रपुर रोडस्थित बिजुली अफिस पूर्वमा रिकण्डिशन हाउस सञ्चालन गरिरहेका खान दुई नम्बरी धन्दा गर्ने गरेको अनुमान गरिएको छ ।

लागुऔषधको व्यापार समेत गर्दै आएका खान केही वर्षयता अपराधिक गतिविधिमा संलग्न हुँदै आएका छन् । ५÷७ वर्षअघिसम्म मासिक २ हजारमा काम गर्ने मिराजसँग अहिले विर्तामोडमा २ वटा सानदार घर, गाडी र जमिन छ । उनले गलत धन्दाबाटै यो सबै आर्जन गरेको स्रोतको दावी छ । स्रोतका अनुसार खान विर्तामोडमा मिटरव्याजी कारोवार समेत गर्दै आएका छन् । यो घटनाबाट उन्मुक्तिका लागि खानले राजनीतिक दलका नेतालाई सहयोग मागिरहेको बुझिएको छ ।

सम्बन्धित समाचार