सामूहिक पहल गरौं, आरोप प्रत्यारोप नगरौं

सांसदहरुले प्राकृतिक प्रकोपबाट जनधनको क्षति भएका स्थानमा सरकारको उपस्थितिमा सामूहिक प्रयासबाट राहत र सहयोगका कार्यक्रम हुनुपर्ने तथा सबै पक्षबीच एकमत हुन आवश्यक रहेकामा जोड दिएका छन्।

प्रतिनिधिसभामा प्रस्तुत भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनीहरुले विपद्को सामना गर्ने एजेण्डामा राजनीति गर्ने प्रयास नगर्न सुझाव दिए । बैठकमा सांसद योगेश भट्टराईले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा सरकारले उद्धार, राहत र बाटो खुलाउने कामलाई हरसम्भव प्रयास गरिरहेको बताए । उनले भने, “सीमा क्षेत्रमा निर्माण गरिएको भारतीय बाँधका कारण डुबान भएको हुँदा बाँध खुलाउन सरकारबाट उच्चस्तरको कूटनीतिक पहल गरियोस्, भारतले पनि अप्ठेरोमा परेका नेपालीलाई दुःख दिने काम नगरोस् ।”



सांसद प्रदीप गिरीले विपद्का बेलामा सबैलाई विश्वासमा लिएर हिँड्नुपर्नेमा सरकारले प्रस्तावमाथि छलफल नै गर्न नचाहेको आरोप लगाए । सांसद देवेन्द्र पौडेलले भने,“विपद्बाट जनधनको क्षति भएका स्थानमा सामूहिकरुपमा सहयोग र राहतका लागि पहल गरौं, पानी आओस् वा घाम लागोस् सरकारलाई मात्र गाली गर्ने काम नगरौँ ।”

सांसद मीना पाण्डेले प्रस्तावलाई राजनीतिक रुपमा नहेरी जनताको हितका विषयमा सहयोग र समर्थन गर्न सुझाव दिईन् । सांसद लक्ष्मणलाल कर्णले भने, “विपद्को सामाना गर्ने सरकारको पूर्व तयारी के थियो रु, कहाँ गरियो रु, जनतालाई आपत परेका बेला सरकार चाहिने हो, उद्धार र राहतको बेलामा अहिलेको सरकार कहाँ छ ।”

सासद गगनकुमार थापाले पीडितको गुनासोलाई हेक्का राखेर काम गर्न सरकारलाई सुझाव दिए । उनले मुलुक बाढीपहिरो र डुबानबाट आक्रान्त भएका बेलामा यसलाई साझा विषयका रुपमा छलफल गर्न आग्रह गरे । सांसद राजेन्द्र महतोले बाढीपहिरो र डुबानबाट धेरै किसानलाई ठूलो नोक्सानी पुगेको हुँदा उनीहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा राहतका कार्यक्रमलाई प्रभावकारी तुल्याउन सुझाव दिए ।

सांसद राधा ज्ञवालीले भनिन्,“सरकार र प्रतिपक्ष मिलेर बाँचेकालाई राहत दिने र सहयोग पुर्याउने काममा एक भएर काम गरौँ, यो बेलामा आरोप र प्रत्यारोप नगरौँ ।” विपद्मा ज्यान गुमाउनेका परिवारलाई दिइने राहत प्रदेशपिच्छे फरक किन भनी प्रश्न गर्दै सांसद विरोध खतिवडाले भने, “एउटै देशको नागरिक मरेको छ, एउटा प्रदेशले एक लाख, अर्कोले दुई लाख, अर्काले तीन लाख यो के भएको हो ? राहतमा किन विभेद् हुनगयो ?”

सासद यज्ञ सुनुवार, मीन विश्वकर्मा, अमरेशकुमार सिंह, विशाल भट्टराई, डिला सङ्ग्रौला, नवराज सिलवालले बाढीपहिरो र डुबान हरेक वर्ष हुने घटना भएकाले विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारीलाई चुस्त तुल्याउन सरकारलाई सुझाव दिए ।

सांसद गङ्गा चौधरी, झपट रावल, गणेशकुमार पहाडी, अतहरकुमाल मुसलमान, पद्मनारायण चौधरी, दीलेन्द्रप्रसाद बडूलगायतले नदी आफ्नो बाटो नपाएपछि दुख दिएको, डोजरले खोतल्दा जमीन अति कमजोर बनेको, छिमेकी मुलुकको बाँधले पनि केही दुख थपेको र पीडामा परेकालाई सामूहिक प्रयास गरेर सहयोग गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार