पार्टी एकताको धरातल कमजोर छैन : वरिष्ठ नेता नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता कुनै पनि हालतमा नभत्किने बताएका छन्। नेकपा संस्थापक नेता नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका अवसरमा बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोल्दै नेपालले पार्टी एकता धरापमा परेको भन्नेलाई यस्तो जवाफ दिएका हुन्।

‘पार्टी एकता रातारात भएको होइन। तर केहीले यो एकता धरापमा त छैन भन्छन्। हामीले लामो समय गुजार्दै यहाँसम्म आएर एकता गरेको हो,’ नेपालले भने, ‘लामो सहकार्यबाट यहाँ आइपुगिएको छ। एकले अर्कालाई चिनेर, बुझेर र सबैका बानी व्यहोार काम बुझेर यो ठाउँसम्मको यात्रा तय भएको हो।’



नेता नेपालले एकता कम्जोर जगमा नउभिएको बताए। ‘यो एकता कम्जोर जगमा उभिएको छैन। यो कुनै हालतमा भत्किँन्दैन’, नेपालले थपे, ‘हामी कम्युनिष्ट सिद्धान्त र मार्क्सवाद लेलिनवादप्रति प्रतिवद्ध छौँ कि छैनौँ भन्ने कुरा महत्वपूर्ण हो। यदि हामीले चहान्छौँ भने हामाीले पुराना पुस्ताका योद्धासँग राम्रा गुण सिकौँ।’ कम्युनिष्ट पार्टीले निर्वाचनबाट दुईतिहाइ सिट हाँसिल गरेको स्मरण गराउँदै नेपालले सातवटा प्रदेशमध्ये ६ वटामा प्रचण्ड बहुमत पाएका उल्लेख गरे। उनले स्थानीय तहको ४५० भन्दा बढी तहमा जित निकालेको बताउँदै अब देश बनाउने बाटोमा अघि बढ्नुपर्ने बताए।

अहिले पाँचजना संस्थापक योद्धालाई सम्झनुपर्ने बताउँदै उनले पुष्पलालपछि नरबहादुर कर्माचार्यको व्यक्तित्व अग्लो रहेको स्मरण गरे। कर्माचार्यले जीवन नै कम्युनिष्ट आन्दोलनमा समर्पित गरेको उनको भनाइ थियो।

सम्बन्धित समाचार