पार्टी एकताका बाँकी कामलाई यही महिनाभित्र सम्पन्न गर्छौ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बाँकी कामलाई यही महिनाभित्र सम्पन्न गरेर भदौदेखि देशव्यापी अभियान सञ्चालन गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय धुम्रबाराहीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले साउनभित्र स्थायी र केन्द्रीय समितिको बैठक बसेर भदौदेखि देशव्यापी नयाँ अभियान सञ्चालन गरिनेछ भने ।

पार्टी एकता गरेर असाधारण पहल कदमी अगाडि बढाइएको उल्लेख गर्दै उनले एकताका क्रममा आइपरेका चुनौती र घेरा पार गरी माथिदेखि तलसम्मका काम अन्तिम चरणमा पुयार्इएको बताए । अध्यक्ष दाहालले भने ‘पार्टी एकतालाई अझ सुदृढ गर्ने र सरकारको कामलाई प्रभावकारी बनाएर नेपालबाट समाजवादको नयाँ ‘मोडल’ देश र दुनियाँलाई दिने सङ्कल्प गर्नु नै कर्माचार्यप्रति सच्चा श्रद्धाञ्जलि हो ।’



नेपाल कम्युनिष्ट र राजनीतिक आन्दोलनका क्रममा विशिष्ट मोडमा उभिएको चर्चा गर्दै नेपाली जनताले दिएको ठूलो अवसरको सदुपयोग गर्न बुद्धिमत्तापूर्ण ढङ्गबाट अगाडि बढ्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री दाहालले दुई तिहाइ जनमत प्राप्त सरकारले जनताका पक्षमा गरेका कामका बारेमा जानकारी गराउँदै सरकारका कामलाई अझ प्रभावकारी रुपमा अगाडि बढाइने बताए ।

‘जनताको विश्वासलाई कायम राख्दै ठूलो उचाइ हासिल गर्नु छ । नेपालबाट समाजवादको उन्नत मोडल विश्वलाई दिनु छ । समाजवादको नयाँ धारा, मोडल र ‘सिस्टम’ दुनियाँलाई दिन सक्नुपर्छ’, उनले भने । अध्यक्ष दाहालले पार्टी एकतालाई सुदृढीकरण गर्दै सरकारको काम प्रभावकारी बनाई जनताको भावना सम्बोधन गरेर मात्रै समाजवाद सम्भव भएको बताए ।

केही मान्छे निश्चित समयसम्म मात्र पार्टीमा लाग्ने र त्यसपछि विचलित हुने आम प्रवृत्तिबीच कर्माचार्यले जीवनभर उद्देश्य र आदर्श तथा वैचारिक निष्ठा राखेर आफूलाई समर्पित गराएको स्मरण गरे । अध्यक्ष दाहालले भने, ‘कर्माचार्यले जीवनभर आफूलाई कम्युनिष्ट आन्दोलनप्रति समार्पित गर्नुभयो, माक्र्सवादी मूल्य मान्यतालाई आफ्नो जीवन व्यवहारमा उतार्नुभयो ।’

कर्माचार्यको वैचारिक र आन्दोलनप्रतिको निष्ठा मुख्य विशेषताका रुपमा रहेको अध्यक्ष दाहालको भनाइ थियो । ‘उहाँ एउटा असाध्यै सरल, पारदर्शी, ‘अवसरवादको गन्ध’ नभएको व्यक्तिका रुपमा हुनुहुन्थ्यो’, उनले भने, ‘राजनीतिक आन्दोलन र कम्युनिष्ट आन्दोलनमा धेरै विसङ्गति र विकृति देखिएको छ । कर्माचार्यले जीवनभर त्यस्ता कदमविरुद्ध सङ्घर्ष गर्नुभयो ।’

सरलता, स्वाभाविकता, पारदर्शिता, इमान्दारिताको पर्यायका रुपमा कर्माचार्य रहेको स्मरण गर्दै अध्यक्ष दाहालले कर्माचार्यको गुणबाट सिक्ने, शिक्षा लिने र आफ्नो जीवनलाई पनि त्यसरी नै रुपान्तरण गर्नुपर्छ भने ।

सम्बन्धित समाचार