सवारी दुर्घनटनामा मृत्यु हुनेको सङ्ख्या घट्यो

कास्कीमा आर्थिक वर्ष २०७४-७५ को तुलनामा आर्थिक वर्ष २०७५-७६ मा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या घटेको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीको तथ्याङ्कअनुसार गत आवमा ज्यान गुमाउनेको सङ्ख्या ३१ रहेको छ । अघिल्लो आवमा सवारी दुर्घटनाबाट ४७ जनाले ज्यान गुमाएका थिए ।

आव २०७५-७६ मा ८२ दुर्घटनामा ८० जना घाइते भएका थिए । अघिल्लो आवमा ७९ दुर्घटना भएकोमा ८८ घाइते भएका थिए । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधानको सङ्ख्या भने बढेको छ । गत आवमा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४ हजार दुई सय सवारी कारवाहीमा परेका थिए । तर अघिल्लो आवमा ५१ हजार पाँच सय एक सवारी कारवाहीमा परेको तथ्याङ्क छ ।



ट्राफिक नियम मिच्ने, कमजोर सडक संरचना, सीमित क्षेत्रमा बढ्दो सवारी चापनै दुर्घटना बढ्नुको कारण भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब निरीक्षक जितजङ्ग कार्की बताउछन् ।’दुर्घटना न्यूनीकरणका लागि विद्यालय र समुदायमा पुगेर सचेतना जगाइरहेका छौं, मादक पदार्थ सेवन ९मापसे० मा कडाइ गरेका छौं र जथाभावी ‘ओभर टेक’ गर्नेलाई कारवाही गरेका छौ ।’

दुर्घटना केवल ट्राफिक प्रहरीको मात्र विषय नभएर चालक पनि जिम्मेवार हुनुपर्ने र सडक संरचनाको स्तरोन्नति अर्को महत्वपूर्ण पाटो भएको उनको भनाइ थियो । कार्कीका अनुसार एक वर्षको अवधिमा जथाभावी पार्किङ गर्ने दुई हजार ९०० सवारीसाधनमा ‘ह्वील’ तथा ‘चेन लक’ लगाइएको थियो । गत आवमा नियम विपरीतका सवारी चलाएवापत रु चार करोड ४७ लाख ३७ हजार ५०० राजश्व सङ्कलन भएको थियो ।

पर्यटकीय शहर पोखरामा बढ्दो सवारी चापले गर्दा ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको सरोकारवालको भनाइ छ । जिल्लामा जम्मा ८८ जना ट्राफिक जनशक्ति रहेको छ । एक जना ट्राफिकले दुई हजार ४७७ वटा सवारी साधन व्यवस्थापनमा गर्नुपर्ने अवस्था रहेको छ । कास्कीमा एक हजार ७८० किलोमिटर सडक रहेको छ । जिल्लामा हालसम्म दर्ता भएका सवारी साधनको सङ्ख्या दुई लाख पाँच हजारमाथि रहेको छ ।

सम्बन्धित समाचार