क्वारेन्टाइनका समस्या समाधान हुन्छ : मन्त्री खनाल

कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले क्वारेन्टाइनमा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग समन्वय गरेर थप सहजीकरण गरिने बताएका छन्। देशभरका मन्त्रालय मातहतका पशु, प्लान्ट र खाद्य क्वारेन्टाइन प्रमुखसँग आइतबार भएको छलफलमा मन्त्री खनालले क्वारेन्टाइनमा रहेका समस्या समाधानका लागि अन्तर सरकारी निकायबीच समन्वय गरेर समस्या समाधान गरिने बताए। अर्थ मन्त्रालय र भन्सार विभागसँग समन्वय गरेर क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउन मन्त्रालयको तर्फबाट पहल हुने मन्त्री खनालको भनाइ थियो ।

क्वारेन्टाइनमा दरबन्दी अनुसारको कम कर्मचारी, भौतिक संरचना र सेवा सुविधासमेत कम भएको भन्ने सन्दर्भमा मन्त्री खनालले ती विषयलाई समेत समाधान गरिने बताए । भन्सार कार्यालयमा रहेका क्वारेन्टाइनमा निरन्तर परीक्षण र कडाइ गर्नुपर्नेमा जोड दिँदै मन्त्री खनालले मनलाग्दी तवरले विदेशबाट आउने जुनसुकै खाद्य सामग्री तथा पशुपंक्षी जथाभावी रुपमा ल्याउन नदिइने स्पष्ट पारे । उनले प्रयोगशालालाई थप व्यवस्थित बनाउने र आयातितमा मात्र होइन स्वदेशमा उत्पादन भएको उपजमा पनि परीक्षण गरिनेमा जोड दिए ।



मन्त्रालयका सचिव प्र्रकाश माथेमाले क्वारेन्टाइनसँग जोडिएका समस्याहरु अल्पकालीन र दीर्घकालीन कार्ययोजना योजना बनाएर समाधान गर्नुपर्ने बताए । मन्त्रालयका अर्का सचिव युवकध्वज जिसीले समायोजनका कारण कर्मचारीमा समस्या आएको हुन सक्ने भएकाले कहाँकहाँ समस्या रहेका छन् त्यसका बारेमा जानकारी गराउन आग्रह गरे ।

कानूनमा भएको अधिकार प्रयोग गर्दै उच्च मनोबलका साथ काम उनले निर्देशन दिए । मन्त्रालय मातहत पशुपन्छीतर्फ आठ क्वारेन्टाइन कार्यालय, स्थायी र अस्थायी गरी २८ वटा चेकपोस्ट छन भने कृषितर्फ १५ वटा क्वारेन्टाइन कार्यालय सञ्चालनमा छन् ।

सम्बन्धित समाचार