अच्युत रेग्मी
काठमाडौं, १३ साउन ।
उपत्यकामा हुने सवारी दुर्घटनामा मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परी धेरै यात्रुको मृत्यु हुने गरेको छ । ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७५-७६ मा उपत्यकामा सवारी दुर्घटनामा परी ज्यान गुमाएका २५४ व्यक्तिमध्ये मोटरसाइकल तथा स्कुटर दुर्घटनामा मात्र ११५ यात्रुले ज्यान गुमाएका छन् ।
मोटरसाइकल तथा स्कुटर दुर्घटनाबाहेक सबैभन्दा धेरै ९३ पैदलयात्रुले उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । यसैगरी कार दुर्घटनामा १६, बस दुर्घटनामा १२, ट्रक दुर्घटनामा १२, साइकल दुर्घटनामा पाँच र माइक्रो दुर्घटनामा एक यात्रुले ज्यान गुमाएका छन् । आव २०७४-७५ मा उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाएका १९४ व्यक्तिमध्ये मोटरसाइकल तथा स्कुटर चालक १११ जना रहेका थिए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त ठूलो सडक, भौतिक पूर्वाधारको कमी र तीव्र गतिका कारण उपत्यकामा सवारी दुर्घटना बढेको बताउछन् । ‘चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो’, उनले भने ।
महाशाखाले उपत्यकाको सवारी दुर्घटनालाई कम गर्न विभिन्न समय विभिन्न किसिमका जनचेतनामूलक कक्षा सञ्चालन, तीव्र गतिमा गुड्ने सवारी साधनलाई सीमित गति, सडकको बीच भागमा डिभाइडर राख्नेलगायतका काम गर्दै आएको छ । आव २०७५-७६ मा उपत्यकामा आठ हजार ५११ सवारी साधन दुर्घटना भएको थियो । सो मध्ये ३१७ व्यक्ति गम्भीर घाइते तथा पाँच हजार ८९० व्यक्ति सामान्य घाइते भएको महाशाखाले जनाएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला साँघुरो बाटो र तीव्र गतिका कारण नै बढी दुर्घटना हुने गरेको बताउछन् । ‘गन्तव्यस्थल पुग्ने हतारोमा छिटो सवारी साधन चलाउँदा बढी दुर्घटना हुने गरेका छन्’, उनले भने।
आव २०७५-७६ मा देशभर १३ हजार ३६६ सवारी साधन दुर्घटना हुँदा दुई हजार ७८९ जनाको मृत्यु भएको हो । यो सङ्ख्या आव २०७४-७५ को भन्दा बढी हो । आव २०७४-७५ मा सवारी दुर्घटनाबाट दुई हजार ३१८ जनाले ज्यान गुमाएका थिए ।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रविकुमार पौडेल उपत्यकामा हुने सवारी दुर्घटनामध्ये ८८.४६ प्रतिशत दुर्घटना चालकको लापरवाहीबाट हुने गरेको बताउछन् । ‘तीव्र गतिका कारण ६.१६, मादक पदार्थ सेवनबाट ३.३२ र ओभरटेकबाट ०.८७ प्रतिशत सवारी दुर्घटना हुने गरेको छ’, उनले भने । कोटेश्वर–कलङ्की सडक खण्डमा पछिल्लो समय बढी दुर्घटना हुने गरेको उनको भनाइ छ ।
ट्राफिक प्रहरीले उपत्यकाको बढी दुर्घटना हुने स्थानको पहिचान गरी टाइम कार्डसमेत लागू गरेको छ । ‘सडक सुरक्षा र दुर्घटनालाई कम गर्न विद्यालयको पाठ्यक्रममा सडक सुरक्षासम्बन्धी जानकारीमूलक सामग्री राखेर अध्ययन गर्नुपर्छ’, प्रवक्ता पौडेल भने ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षित समाज निर्माणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अगाडि सारेका छन्। उक्त साझेदारीको मुख्य उद्देश्य नै देशभर बढ्दै गएको सवारी दुर्घटनालाई कम गर्नु हो ।
महानिरीक्षक खनाल सडक सुरक्षित भए मात्र सवारी दुर्घटना कम हुने भएकाले सडक सुरक्षित गर्न नेपाल प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउछन् । ‘सडक दुर्घटनालाई कम गर्न गृह मन्त्रालयले सात प्रदेशको १४ स्थानमा चालक तथा यात्रुका लागि आरामस्थल निर्माण गरिरहेको छ’, उनले भने ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा ११ लाख हाराहारीमा सानाठूला सवारी साधन सञ्चालनमा रहेका छन् ।