गृहमन्त्री रामबहादुर थापाले आर्थिक वर्ष २०७५-७६ मा गृह मन्त्रालयले बनाएको कार्यक्रम तथा योजना सफल रहेको बताएका छन् ।
मन्त्रालयमा आव २०७५-७६ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको सोमबारको बैठकमा उनले भने, “गत आर्थिक वर्षमा गृहले लिएको जिम्मेवारी कार्यान्वयनमा मूलभूत रुपमा सफल भएका छौंँ, अहिले देखिएका कमिकमजोरीलाई सुधार गर्दै आगामी वर्ष थप सफलता प्राप्त गर्नेगरी योजना बनाउन आवश्यक छ ।”
सरकारले लिएको दिगो विकासको लक्ष्य, १५औंँ आवधिक योजना र २५ वर्षे विकास रणनीति अनुरुपका काम कारवाही र योजना बनाउन उहाँले गृह मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिए । गृहमन्त्री थापाले समृिद्धको लक्ष्य प्राप्तिका लागि शान्ति, सुरक्षाको प्रत्याभूति अनिवार्य शर्त रहेको भन्दै सोही अनुरुप सुरक्षामा आवश्यक बजेट विनियोजन हुनुपर्ने टिप्पणी गरे ।
कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विगत वर्षका तुलनमा गत आव २०७५-७६ मा गृहका काम कारवाही प्रभावकारी देखिए पनि अझै असार मसान्तमा कामसक्ने परिपाटीको अन्त्य नभएको बताए ।