खोरेतको औषधि अभाव, दिनप्रतिदिन पशुवस्तु मर्न थाले

एक महीनादेखि हुम्लाका तीन गाउँपालिकामा पशुवस्तुमा खोरेत रोग फैलिएको छ । पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेर मर्न थालेका छन् तर भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र यस सम्बन्धमा अनभिज्ञ रहेको छ ।

जिल्लाको सर्केगाड गाउँपालिकाको राहदेव र खार्पुनाथ गाउँपालिकाको वडा नं १ र ५ मा रहेको लेकमा खर्कमा वर्षा लागेसँगै पाटनमा चरिचराउ गर्न लगिएका दुई दर्जनभन्दा बढी पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेपछि पशु मरेका छन् ।



वडा नं ५ दुर्पागाउँ निवासी पशुपालक कृषकले गाउँभन्दा टाढा रहेका खर्कमा लगेका पशुवस्तु यतिबेला मर्न थालेको दुर्पागाउँ निवासी देवसिंह रोकायाले बताए। यसरी पशुवस्तुमा देखापरेको रोगले दुई दर्जन पशु मर्दा पशुपालक कृषकलाई ठूलो नोक्सानी भएको उहाँले जानकारी दिए ।

यसैगरी जिल्लाको सिमकोट गाउँपालिका–२ ठेहेमा रहेको चुवाखोलामा पनि भेडाबाख्रामा यो रोग देखापरेको छ । खार्पुनाथ गाउँपालिकामा पशुचौपायलाई उपचारका लागि औषधि भए पनि स्वास्थ्यकर्मी नभएको र कर्मचारी समायोजनका कारण समस्या भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।

रावलका अनुसार एक गाउँ एक प्राविधिकलाई गाउँबाटै बजेटको व्यवस्था गरेर रोग प्रभावित क्षेत्रमा पठाउने तयारी भएको बताए । रोगको उपचारका लागि गाउँपालिकामा पशु स्वास्थ्य शाखामा कर्मचारी अभाव भएकाले पशुवस्तुलाई भ्याक्सिनसहितको उपचारको टोली तत्काल उक्त स्थानमा पठाउन समस्या भएको अध्यक्ष रावलले जानकारी दिए । सर्केगाड गाउँपालिकामा पनि महामारी फैलिन नदिन जिल्लाका लेकमा रहेका विभिन्न खर्कमा स्थानीय निकाय लागिपरेको सर्केगाड गाउँपालिका अध्यक्ष करन रोकायाले जानकारी दिए।

सम्बन्धित समाचार