राजपाले प्रतिनिधिसभा बैठक चल्न नदिने

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारले सर्लाही घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन नगरेसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने भएको छ  । मंगलबार काठमाडौंमा बसेको पार्टीको अध्यक्षमण्डलको बैठकले सर्लाहीमा गैर न्यायिक ढंगले प्रहरीको गोलीबाट दुई जना नागरिकको ज्यान गएको घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन गर्नुपर्ने कांग्रेससहितको माग सम्बोधन नगरेसम्म प्रतिनिधिसभा बैठक चल्ने नदिने अडान लिएको हो।

बैठकले कैलालीको टिकापुर घटनाको सम्बन्धमा छानबिन गर्न गठित गिरिशचन्द्र लाल संयोजकत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न, मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगसम्बन्धि विधेयक फिर्ता लिन पनि सरकारलाई निरन्तर दबाब दिने निर्णय गरेको पनि पार्टीका नेता अनिलकुमार झाले जानकारी दिए।



बैठकले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई राहत दिन सरकार जिम्मेवार नदेखिएको आरोप पनि लगाएको छ। बैठकमा समाजवादी पार्टी, नेपालसँगको पार्टी एकताका लागि वार्ता प्रक्रिया अघि बढ्न नसकेको निष्कर्ष निकाल्दै पार्टीको महाधिवेशनमा केन्द्रित भएर अघि बढ्ने विषयमा पनि नेताहरूबीच छलफल भएको थियो।

सम्बन्धित समाचार