बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले मकवानपुरमा गाडीमा आगजनी गरेका छन् । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन् । बन्द आह्वानको पूर्वसन्ध्यामै हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा आगजनी गरिएको हो ।
आगजनीका कारण कार पूर्ण रूपमा क्षति पुगेको र ट्रकको अगाडिको भाग मात्र जलेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।
त्यसैगरी, हेटौंडाका थानाभर्याङ, चौकीटोल, हुप्राचौरको क्विक २० नजिकै शंकास्पद् वस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ । हेटौंडाको मुख्य बजारको पारिजात पथमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पार्न सेनाको टोली आउँदै गरेको प्रहरीले जनाएको छ ।
उता झापाको ३ वटा स्थानमा एनसेल टावरमाथि एकैपटक आक्रमण भएको समाचार प्राप्त भएको छ । जिल्लाको भद्रपुर र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ भने दमकमा रहेको एनसेल टावरमा बम बिष्फोट भएको छ । एक्कासि एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
प्रहरीका अनुसार यसअघि पटकपटक नेकपाले एनसेलले कर नतिरेको भन्दै टावरमा आक्रमण गरेका कारण यसपटक पनि नेकपाले गरेको हुन सक्ने प्रहरी अनुमान छ । यद्यपि घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव समूहले बुधबार बागमती र नारायणी अञ्चल तथा रामेछाप र दोलखा जिल्ला बन्द आह्वान गरेको छ । बन्दको प्रभाव राजधानीमा भने आंशिक देखिएको छ । शैक्षिक संस्थाहरु नखुले पनि यातायात साधन भने निर्वाध गुडिरहेका छन् ।