अमेरिकाको टेक्सासस्थित इआई पासोमा अन्धाधुन्ध गोली प्रहार गरिंदा कम्तीमा २० जनाले ज्यान गुमाएका छन् भने २६ जना घाइते छन् ।
उक्त घटना सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा भएको जनाइएको छ । बीबीसीका अनुसार, यो अमेरिका र मेक्सिकोको सीमा नजिकैको क्षेत्र हो ।
आक्रमणमा ज्यान गुमाउनेहरूको पहिचान हालसम्म भएको छैन । यद्यपि, मेक्सिकोका राष्ट्रपति म्यानुअल लोपेज ओबराडोरले घटनामा आफ्ना ३ मेक्सिकन नागरिकको ज्यान गएको बताएका छन् । रोयटर्सले जनाएअनुसार उनले ६ नागरिक गोली प्रहारबाट घाइते भएको जनाएका छन् ।
अमेरिकी सञ्चारमाध्यमहरूले सीसीटीभीमा कैद भएको डार्क टिसर्ट र इअर प्रोटेक्टर लगाएका व्यक्तिले एसल्ट राइफलमार्फत अन्धाधुन्ध गोली बर्साएको दृश्य प्रसारण गरेका छन् ।
टेक्सास राज्यका गभर्नर जर्ज एबोटले गोलीकाण्डको पुष्टि गर्दै इतिहासकै सबैभन्दा भयानक दिन भएको प्रतिक्रिया दिएका छन् ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले २१ वर्षीय युवक प्याटरिक क्रुसिअसलाई नियन्त्रणमा लिएको छ । प्रहरीले दिएका जानकारी अनुसार उनी दल्लासका भएको खुलेको छ ।
अमेरिकामा यस प्रकारको मास सुटिङको घटना नयाँ होइन । एक साताअघि मात्रै क्यालिफोर्नियाको फुड फेस्टिबलमा बन्दुक आक्रमण भएको थियो । जसमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा ३ जनाको ज्यान गएको थियो । यस्ता घटनामा वृद्धि भएसँगै नागरिकलाई बन्दुक राख्न दिइँदै आएको सुविधाबारे बहस भइरहेको छ ।