ओखलढुङ्गामा बाघले २१ बाख्रा मार्यो

ओखलढुङ्गाको पलापुमा बाघले बाख्रा मारेको छ । जिल्लाको चम्पादेवी गाउँपालिका– १ र २ मा पर्ने पलापुमा तीन दिनमा बाघले २१ वटा बाख्रा मारेको हो । बुत्रबार बिहान स्थानीय मसली मायाको नौ वटा खसीबोकासहित नौ वटा बाख्रा मारेको छ । यसअघि मंगलबार पलापुकै झलकबहादुर मगरको पाँच र बाबुराम श्रेष्ठको दुई वटा बाख्रा मारेको थियो । तीन दिनअघि स्थानीय बलबहादुर श्रेष्ठ, घनीमाया मगर, मेघबहादुर श्रेष्ठ, एकबहादुर श्रेष्ठ र असमन मगरको एक–एक वटा बाख्रा बाघले मारेको वडाध्यक्ष कुलबहादुर श्रेष्ठले जानकारी दिए ।

केही दिनयता बाघले गाउँमा आतङ्क मच्चाएको श्रेष्ठको भनाइ छ । बाघको आक्रमणबाट पलापुका हीराबहादुर श्रेष्ठ घाइते भएका छन् । गोठमा काम गरिरहेको अवस्थामा श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो । घाइते श्रेष्ठको सिन्धुलीको खुर्कोटमा उपचार भइरहेको छ ।



बाघ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय ओखलढुङ्गामा पहल गरिएको गाउँपालिका प्रमुख नवराज केसीले बताए । बाघ नियन्त्रणका लागि जिल्लाबाट टोली मगाइएको अध्यक्ष केसीले बताए । रातदिन जुनसुकै समयमा बाघले आक्रमण गरी बाख्रा मार्न थाले पनि स्थानीयवासी त्रसित भएका छन् । डिभिजन वन कार्यालय ओखलढुङ्गाका फरेष्टर गणेशबहादुर कटुवालका अनुसार बाख्रामाथि भएको आक्रमणका प्रकृतिअनुसार बाघले नै स्थानीयलाई त्रसित परोको हुन सक्ने बताए । सामान्तः पहाडी जिल्लामा माघ विरलै पाइन्छ ।

सम्बन्धित समाचार