धम्की दिए सरकारले कर्मचारीको सामूहिक राजीनामा स्वीकृत गर्ने

निजामती कर्मचारीले सामूहिक राजीनामाको धम्की दिए सरकारले स्वीकृत गर्ने भएको छ । आफ्नो माग पूरा गर्न सामूहिक राजिनामा दिने घोषणा गरे सरकारले लगत्तै राजिनामा स्वीकृत गर्ने भएको हो ।

सरकारले हालै ल्याएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सो प्रावधान राखिएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सो विधेयकमाथि दफावार छलफल भएपछि सहमति जुटेको हो ।



बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकले विधेयकको दफा १२१ मा विभिन्न कारणले निजामती सेवाका कर्मचारीले सामूहिक राजिनामा दिए सरकारले स्वीकृत गर्न सक्ने नयां व्यवस्था गरिएको छ ।

उक्त प्रावधानमाथि सत्तारुढ दल नेकपाका सांसदहरूले समर्थन र नेपाली कांग्रेसका सांसदहरूले असहमति प्रकट गरे थिए । उक्त बिधेयक बहुमतले पारित गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सो प्रावधानको पक्षमा मत राखेका थिए। ट्रेड युनियन संस्थागत वा चिकित्सकबाट विगतमा सरकारलाई सामूहिक राजीनामा दिने चेतावनी आउँदा सरकार उनीहरूका माग सम्बोधन गर्न बाध्य हुने गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसुदन रामयाझीले लेखेका छन् ।

सम्बन्धित समाचार