सरकारले धुलो दूधको आयात प्रतिबन्ध नहटाउने स्पष्ट पारेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा आज निजी डेरी उद्योगीसँग भएको छलफलमा कृषिमन्त्री चक्रपाणि खनालले धुलो दूध आयात खुला गरिनु किसान र उपभोक्ताको हितमा नरहेको उल्लेख गर्दै आयातमा लगाइएको प्रतिबन्ध नहटाइने स्पष्ट पारे ।
बाहिर प्रचार गरिए जस्तो दूधको अभाव नभएको उल्लेख गर्दै उनले केही समयलाई दूध अपुग भए आन्तरिक रुपमै व्यवस्थापन गर्न ध्यान केन्द्रित गरिने बताए । उनले भने, “गाउँमा दूध पर्याप्त छ । त्यसलाई शहरसम्म ल्याइपुर्याउने विधि खोजौँ । बरु सूचना जारी गरौँ । गाडी नपुगेका ठाउँमा गाडी लैजाऔँ ।”
छलफलमा निजी डेरी उद्योगीले पाउडर दूध आयातमा लगाइएको प्रतिबन्ध हटाइदिन आग्रह गरेका थिए । भदौ, असोज र कात्तिकमा नेपालीका ठूला चाडबाड पर्ने तथा दूध उत्पादन कम हुने भन्दै उनीहरुले एक पटकका लागि कम्तीमा तीन महिना आयातमा लगाइएको प्रतिबन्ध हटाउन अनुरोध गरेका थिए ।
निजी डेरीले भारतलगायत तेस्रो मुलुकबाट धुलो दूध आयात गर्दै आएका छन् । “एउटा मात्र संस्था तोकेर आयात गर्न दिऊँ, त्यो संस्था हामी नै किटान गरेर दिन्छौँ । कम्तीमा पाँच हजार मेट्रिकटनका लागि भए पनि एक पटक मात्र अनुज्ञापत्र जारी गरिदिनुस्”, नेपाल डेरी एशोसियशनका अध्यक्ष राधाकृष्ण सापकोटाले भने ।
अन्य व्यवसायीले भने तीन महिनाका लागि खोल्दा दुई वर्षलाई पुग्ने गरी धुलो दूध मौज्दात राख्ने भएकाले कुनै पनि हालतमा आयात खुला गर्न नहुने बताएका थिए । केन्द्रीय दुग्ध सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद देवकोटाले भने, “दूध पर्याप्त उत्पादन भएको छ । यति हुँदाहुँदै पनि दूध नपुग्नुको कारण के हो त्यो खोजिनुपर्छ ।”