एक हप्तामा पुल मर्मत गरिसक्न चाइनिज कम्पनीलाई मन्त्री महासेठको निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले शनिबार पूर्वपश्चिम राजमार्गअन्तर्गतको नवलपरासीमा भाँचिएको अरुणखोला पुलको निरीक्षण गरेका छन्। मध्यविन्दु नगरपालिकामा रहेको भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्दै पुललाई मर्मत गरी एक हप्ताभित्रमा सञ्चालनमा ल्याउन निर्देशन दिए । उनले जतिसक्दो चाँडो पुल मर्मत गरी पुलबाट यातायात सञ्चालन गर्ने प्रबन्ध मिलाउन सडक डिभिजन कार्यालयका कर्मचारीलाई निर्देशन दिए।

उनले पुल मर्मत चलिरहँदा यातायात सञ्चालनका लागि निर्माण गरिएको ‘डाइभर्सन’ लाई समेत व्यवस्थित बनाउन निर्देशन दिए । निर्माण गरिएको ‘डाइभर्सन’बाट यातायात सञ्चालनमा कठिनाइ हुँदा यात्रुहरुले सास्ती खेप्नुपरेको छ । अहिले सवारी ‘डाइभर्सन’बाट सञ्चालन भइरहेका छन् । पानी पर्दा बाटो चिप्लो भई यातायात प्रभावित भएको थियो । जसले गर्दा यात्रुहरु घण्टौँ जाममा बस्नुपर्ने अवस्था रहेको थियो ।



शनिबार बिहानबाट यस क्षेत्रमा यातायातको चाप कम भएको छ । अहिले सवारी १५ देखि २० मिनेटमा पुल भाँचिएको क्षेत्र छिचोल्ने गरेका छन् । बुधबार अरुणखोला पुलमा ट्रक ठोक्किँदा पुलमा क्षति पुगी यातायात सञ्चालन प्रभावित बनेको थियो । भाँचिएको पुलको आजदेखि मर्मत शुरु गरिएको छ ।

राजमार्गमा धेरैजसो स्थानमा ठूला–ठूला खाल्डो परेका छन् । खाल्डोका कारण कुनै पनि बेला मानवीय तथा भौतिक क्षति हुनसक्ने भन्दै राजमार्ग विस्तारको जिम्मा पाएको ‘चाइनिज कम्पनी’लाई मर्मतका लागि उनले निर्देशन दिएका हुन् ।

सम्बन्धित समाचार