पुडासैनी आत्महत्या प्रकरणको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा निष्पक्ष छानबिन हुनपर्ने धारणा सार्वजनिक गरेको छ । पार्टीका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले यो प्रकरणमा स्वतन्त्र र निष्पक्ष ढंगले छानबिन हुनुपर्छ भन्ने पार्टीको धारणा रहेको बताए ।

पार्टी सभापति शेरबहादुर देउवाले यो प्रकरणमा पक्राउ परेका न्यूज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेको पक्षमा वा समर्थनमा पत्र नपठाएको समेत उनले स्पष्ट पारे । उनले भने,’म्रो पार्टीले रवि लामिछानेलाई समर्थन गरेको छैन । हामी निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ भन्ने पक्षमा छौं । सभापतिले रवि लामिछानेलाई पत्र पठाउनुभएको छैन् ।’ आफ्नो पार्टी पीडितले न्याय पाउनुपर्ने र कोही पनि निर्दोष व्यक्ति फस्न नहुने पक्षमा रहेको महतको भनाई छ ।



जिल्ला प्रहरी कार्यालय चितवनले अहिले पत्रकार लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसहित तीनै जनाविरूद्ध आत्महत्या दुरुत्साहनमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाँच दिनको समय पाएको छ । आत्महत्या गरेका पत्रकार सालिकराम पुडासैनीकी श्रीमती सम्झनाले आइतबार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध किटानी जाहेरी दिएकी छिन्।

सम्बन्धित समाचार