प्रधानमन्त्री केपी शर्मा ओली आउँदो बिहीबार स्वास्थ्य जाँचका लागि फेरि सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनी १० दिनसम्म स्वास्थ्य उपचार गराएर अघिल्लो सोमबार स्वदेश फर्केको भए पनि फेरि जान लागेका हुन् । केही औषधी सेवन र थप परीक्षणका लागि उनलाई यसअघि नै चिकित्सकले उतै बस्न आग्रह गरेको भए पनि उनी पार्टीको केही काम सक्नैपर्ने भन्दै स्वदेश फर्किएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।
उपचारपछि उनी स्वदेश फर्किएलगत्तै उनले पार्टीमा लामो समयदेखि टुंगो लाग्न नसकेका काम टुंग्याएका छन् । पार्टीको सचिवालय बैठक बसी विभिन्न नेताहरुको जिम्मेवारी पनि हेरफेर गरिएको थियो भने विभागलाई पूर्णता दिइएको छ । त्यस्तैगरी जनवर्गीय संगठनको संयोजक र सहसंयोजक पनि बनाइएको छ ।
प्रधानमन्त्री ओलीले स्वदेश फर्केपछि आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको बताउँदै चिकित्कसले आफूलाई २०–२५ वर्ष बाँच्ने बताएको धारणा राखेका थिए ।
उनले स्वदेश फर्केपछि ट्विट गर्दै भनेका थिए,“सिंगापुरमा स्वास्थ्य परीक्षण गरी आज फर्किएको छु । मेरो स्वास्थ्य सामान्य रहेको छ । परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु । मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्नु हुने सवै दिदीबहिनी दाजुभाईहरूलाई धन्यवाद दिन चाहन्छु ।”
उनको स्वास्थ्य अवस्थाका बारेमा सरकारी तहबाट कुनै औपचारिक जानकारी भने नगराइएकोले जनस्तरबाट गुनासो समेत आएको थियो । कामको धपेडीको कारण देखाउँदै उनका निजी चिकित्सक समूहले प्रधानमन्त्रीलाई जाँचको लागि यसअघि सिंगापुर जान आग्रह गरे बमोजिम उनी त्यसतर्फ गएका थिए ।
प्रधानमन्त्री राति १–२ बजेसम्म विभिन्न काममा व्यस्त हुने र बिहान पनि सबेरै उठ्ने भएकोले धपेडीका कारण उनलाई समस्या पर्न सक्ने चिकित्सक टोलीले यसअघि बताएको बुझिएको छ ।