सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई छाडिँदैनः उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण गर्ने जोकोहीलाई पनि नछाडिने बताएका छन् । काठमाडौं क्षेत्र नं ५ का नेकपाका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा उनले काठमाडौँमा अधिकांश खाली ठाउँ मासिनु दुःखद् पक्ष भएको बताए ।

“सार्वजनिक जग्गा मास्ने नेकपाकै नेता कार्यकर्तालाई पनि हामी जोगाउँदैनौँ”, उनले भने, “त्यस्ता व्यक्तिलाई पार्टीले कारवाही गर्छ ।” उपप्रधानमन्त्री पोखरेलले मन्दिर बनाउने बहानामा खाली ठाउँ मास्ने क्रम अझै नरोकिएको बताए । उनले सरुवा र बढुवाका काम लिएर आफूसँग नआउन आग्रह गर्दै विकास निर्माणका कामका लागि आफू जति बेला पनि तयार रहेको बताए । उनले जनप्रतिनिधिले पार्टीसँग समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने भन्दै छिटो, छरितो र प्रभावकारी सेवा प्रदानमा ध्यान पुर्याउनु पर्नेमा जोड दिए ।



उपप्रधानमन्त्री पोखरेलले क्षेत्र नं ५ को विकासका लागि सबै जनप्रतिनिधिबीच एकता र समन्वयको खाँचो रहेको औँल्याए । उनले कानूनको अभावमा सङ्घ, प्रदेश र स्थानीय सरकारको काम, कर्तव्य र अधिकारको क्षेत्रमा अलमल देखिए पनि कानूनले पूर्णता पाएपछि छिट्टै समस्या हट्ने बताए । विकास निर्माणमा बाधक बनेको सार्वजनिक खरीद ऐनलाई बदल्न लागिएको भन्दै उनले ऐन संशोधन गरेपछि विकास निर्माणका काममा हुने गरेका अवरोध हट्ने विश्वास दिलाए ।

सम्बन्धित समाचार