

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर गएको प्रष्ट पारेका छन् । प्रधानमन्त्रीको स्वास्थ्याबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेको सन्दर्भमा मन्त्री बाँस्कोटाले प्रधानमन्त्री नियमित परीक्षण र नयाँ औषधि चलाइएकाले त्यसलाई कसरी मजबुत बनाउने भन्नेबारे सिङ्गापुर जान लागेको बताए ।
उनले प्रधानमन्त्रीले नयाँ औषधि प्रयोग गरिसकेपछिको प्रभाव कस्तो हुन्छ, त्यसका आधारमा थप स्वास्थ्य परीक्षण पनि हुनसक्ने जानकारी दिए । प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर सक्कली र नक्कली बहसहरु चलेको टिप्पणी गर्दै सञ्चारमन्त्रीले अगाडि थपे, “प्रधानमन्त्रीको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी बहस चलिरहेका छन् । सक्कली कुरा १२ वर्ष अगाडि उनी (प्रधानमन्त्री ओली)को मिर्गौला प्रत्यारोपण भएको हो । नक्कली कुरा चाहिँ जोतिषलाई हेराएर आएर समाचार लेख्ने, फेसबुक वा ट्वीट गर्ने । डेढअक्कली कुरा स्वास्थ्य लाभको कामना पनि गरियो कि गरिएन भनेर बहस झिक्ने कुरा हो ।” प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि आजै पुनः सिङ्गापुर प्रस्थान गरेका हुन् ।
