

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चिनियाँ राष्ट्रपतिले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनालाई असफल बनाउन चालिएका कदमविरुद्ध लड्न नेपाल राजनीतिक रुपमा तयार रहेको बताए ।
चीनमा आयोजना गरिएको ‘गुआङ्ग्डोङ्ग २१औँ शताब्दी म्यारी टाइम सिल्करोड अन्तर्राष्ट्रिय एक्स्पो’ लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दक्षिण एशियामा बिआरआईका विरुद्ध लक्षित गर्दै चलेका अभियानको कुनै अर्थ नभएको टिप्पणी गरे । उनले त्यस्ता अफवाहविरुद्ध एक भएर लड्न नेपाल तयार रहेको बताए । नेता खनाल चिनियाँ सरकारको निमन्त्रणमा चारदिने चीन भ्रमणमा छन् ।
नेता खनालले सन् २०१७ मा बिआरआईमा नेपाल र चीनबीच भएको समझदारीपछि नेपाल औपचारिक रुपमा बिआरआईमा सहभागी हुने मुलुक बनेको बताए । उनले समझदारीपूर्व विभिन्न चरणमा द्विपक्षीयरुपमा विभिन्न समझदारी भएको स्मरण गरे । ती समझदारीपत्र बिआरआईको आधारपत्र तयार गर्न सहायक भएको उनको भनाइ थियो ।
नेपाल र चीनबीच एक हजार ६०० वर्ष पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै नेता खनालले अब साँस्कृतिक र व्यापारिक आधारमा नेपाल र चीनबीचको सम्बन्ध विकास गरिनुपर्नेमा जोड दिए । बिआरआईको प्रवाभकारी कार्यान्व्यनका लागि नेपाल–चीन आर्थिक करिडोरको विकास गर्न उनले प्रस्ताव गरे । त्यसैगरी ‘ट्रान्स हिमालय इकोनोमी करिडोर’को स्थापना र नेपाल चीनबीचको रेल सञ्जालको सम्बन्धले सिल्क रोडको ल्हासा–काठमाडौँ–भारत खण्डलाई पुनःजीवित पार्ने र जसको लाभ नेपालले लिनसक्ने उनको भनाइ थियो ।
सम्बोधनका क्रममा नेता खनालले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धका बारेमा स्मरण गरे । “काठमाडौँको साँस्कृतिक उत्कृष्टता चीनले आयात गरेको थियो, जुन आज पनि बेइजिङको सेतो प्यागोडाशैलीमा देख्न सकिन्छ, जुन अरनिकोद्वारा निर्माण गरिएको थियो”, उनले भने। उनले दुई देशबीच गहिरो साँस्कृतिक तथा आर्थिक सम्बन्ध रहेको र इतिहासको विभिन्न कालखण्डमा दुई देशबीच वैवाहिक सम्बन्धसमेत स्थापित भएको उल्लेख गरे ।
