पुडासैनी आत्महत्या प्रकरण : जिल्ला अदालत चितवनमा बहस सकियो, केही समयमै आदेश आउने

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणअन्तर्गत दायर आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दाको थुनछेक बहस सकिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले ३ जनालाई अभियुक्त बनाएर दायर गरेको मुद्दामा प्रतिवादीको बयान पछि शुरु भएको थुनछेक बहस सकिएको जिल्ला अदालत चितवन स्रोतले जानकारी दिएको छ ।



अदालत स्रोतका अनुसार जिल्ला न्यायाधीश हेमन्त रावलको इजालशले आजै आदेश सुनाउने तयारी छ ।

आइतबारसम्म उक्त प्रकरण प्रहरीको अनुसन्धानकै दायरमा थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले चितवनले नर्स अस्मिता भनिने रुकु कार्की, न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध मुद्दा दायर गरेको हो ।

सरकारी वकिल कार्यालय चितवनले कार्की, कँडेल र लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहनसहित ज्यानसम्बन्धी कसूरसमेत गरेको अभियोग लगाएको छ ।

मुद्दाको थुनछेक बहसका लागि २६ जना वकिलहरुले आफ्नो वकालतनामा दर्ता गराएका थिए । तर, २१ जनाले मात्रै बहस गरेका चितवन जिल्ला अदालत स्रोतले जानकारी दियो ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्षमा बहस गर्न ५ जना कानून व्यवसायीले आफ्नो वकालतनामा दर्ता गराएका थिए । तर, वरिष्ठ अधिवक्ता सुशील पन्त र अधिवक्ता सुनिल पोखरेलले मात्रै बहस गरेको अदालत स्रोतले जानकारी दियो ।

यस्तै, मुद्दाको पक्षमा (वादीका तर्फ) बाट जिल्ला न्यायाधीवक्ता यदुनाथ शर्मासहितका सरकारी र निजी वकिलहरुले बहस गरेका जनाइएको छ ।

सम्बन्धित समाचार