नेइमारको बार्सिलोना फर्किने इच्छा पुरा हुने सम्भावना

स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) बिच स्टार खेलाडी नेइमारका लागि तिर्नु पर्ने रकमका सम्बन्धमा ‘सहमति’ भएको जनाइएको छ ।

बिबिसी रेडियो फाइभ लाइभका गुइलेम बालागोका अनुसार दुई क्लबका पदाधिकारीबिच नेइमारको ‘भ्यालुएसन’ सम्बन्धमा सहमति बनेको छ ।



बार्सिलोनाले नेइमारका लागि पिएसजी सामु २०० मिलियन नगद र डिफेन्डर ज्यान–क्लेयर तोडिबो, मिडिफिल्डर इभान रेकिटिक र उसमान डेम्बेलेलाई एक सिजन लोनमा पठाउने प्रस्ताव गरेको छ ।

बिहीबार भएको पत्रकार सम्मेलनमा पिएसजीका प्रशिक्षक थोमस टुसिलले नेइमार शुक्रबार लिग वान अन्तर्गत मेट्जसँगको खेलमा टिममा नहुने बताएका थिए ।

दुई क्लबका पदाधिकारीबिच मंगलबार नेइमार अनुबन्धका सम्भावित विकल्पबारे छलफल भएको हो ।

नेइमार अनुबन्धका लागि बार्सिलोनाले गरेको प्रयास भने उसले लोनमा पिएसजी पठाउने भनेका तीन खेलाडीमा भर पर्ने छ । उनीहरु पिएसजी जान तयार छन् या छैनन् स्पष्ट भएको छैन । तर दुई क्लबका पदाधिकारीबीचको वार्तामा भएको ‘ब्रेक–थ्रू’ ले बार्सिलोना फर्किने नेइमारको चाहना पूरा हुने जस्तो देखिएको छ ।

दुई वर्षअघि बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्यमा पिएसजी गएका नेइमार कुनै पनि हालतमा बार्सिलोना फर्किन चाहन्छन् । नेइमारले बार्सिलोना फिर्तिका लागि आफ्नो तर्फबाट हुनेसम्मको प्रयास गरेको बताइन्छ ।

उनले पारिश्रमिक कम लिने प्रस्ताव गरेको कुरा यसअघि नै आएको थियो । तर पिएसजीले ठूलो रकम मागेको र बार्सिलोना त्यसका लागि तयार नभएकाले समस्या हुँदै आएको थियो ।

नेइमारका लागि बार्सिलोना र रियल मड्रिडले यसअघि गरेको प्रस्ताव पिएसजीले अस्वीकार गरेको थियो । पहिलो प्रस्ताव अस्वीकृत भएपछि बार्सिलोनाले नेइमारका लागि पिएसजीसँग अर्को प्रस्ताव गरेको हो र त्यसमा पिएसजी पनि सहमत भएको जनाइएको छ ।

बार्सिलोनाका कप्तान लियोनल मेस्सी नेइमारलाई जसरी पनि ल्याउनु पर्ने पक्षमा रहेकाले पनि बार्सिलोना दबाबमा रहेको बताइन्छ । त्यहि भएर उसले २०० मिलियन र खेलाडीको प्रस्ताव गरेको हो ।

२७ वर्षे ब्राजिलियन खेलाडी नेइमार सन् २०१७ मा २२२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी गएका हुन्।

सम्बन्धित समाचार