आशा भोसले: ठूला गायकले छोडेका गीत गाएर सफलता

ठूलो रुखको ओसमा बिरुवा नसप्रने र अन्तत: मासिएर जाने डर हुन्छ। प्रतिभाको कुरामा पनि यो उदाहरण धेरै हदसम्म लागू भएको देखिन्छ। एकै परिवारभित्र एउटा क्षेत्रमा स्थापित बनिसकेको नामका कारण अर्को पुस्ता त्यही क्षेत्रमा अघि बढ्दा छायाँमा पर्ने जोखिम हुन्छ। तर त्यसमा अपवाद बन्दै सफल हुनेहरुमध्ये भारतीय गायिका आशा भोसले (८६) पनि पर्छिन्।

दिदी एवं भारतकी दिग्गज गायिका लता मंगेशकरकै सांगीतिक पदचिह्न पछ्याएकी आशाले आफ्नो अलग पहिचान बनाएकी छन् । ८ सेप्टेम्बर १९३३ मा जन्मिएकी उनले १० वर्षकै उमेरदेखि गायन शुरु गरेकी थिइन्। उनले दिदी लतासँग ‘चला चला नाव’ गीत गाएकी थिइन्।



आशाको इच्छा थियो, गायनसँगै अभिनयमा पनि जम्ने। तर समयले उनलाई गायनमा मात्र साथ दियो र अलग पहिचानमै उभ्यायो। ६ दशकको सांगीतिक करिअरमा उनले करीब १२ हजार गीत गाएकी छन्। हर प्रकारका गीत गाउनु उनको विशेषता र खुबी हो।

उनले विभिन्न भाषामा गाएकी छन् । नेपाली चलचित्र ‘चिनाे’  ‘कन्यादान’ लगायतमा पनि उनको स्वर सुन्न पाइन्छ।

तर यहाँसम्मको सफलता प्राप्त गर्ने क्रममा उनको यात्रा सहज थिएन।

आशाले फिल्ममा पहिलो गीत सन् १९४८ मा गाएकी थिइन्। त्यो थियो चुनरिया फिल्मको सावन आया रे बाेलको कोरस गीत, जसमा उनले जोहराबाई अम्बालेवाली र गीता दत्तसँग मिलेर गाएकी थिइन्।

त्यसपछिको अर्को वर्षमै उनले फिल्ममा सोलो गीत गाउने मौका पाइन् । १६ वर्षको उमेरमा उनले ‘रात की रानी ९१९४९० फिल्ममा ‘हे मोज मे अपने बेगाने’ गाइन् । सन् १९४८ देखि १९५७ सम्ममा उनले धेरै संख्यामा गीत गाइन्, तर तिनलाई श्रोतारदर्शकले सम्झिएनन्। किनकि, ती गीत सानो तथा बी र सी ग्रेडका फिल्मका थिए। उनले करिअर शुरु गरेको वेला भारतीय फिल्म उद्योगमा गीता दत्त, शमशाद बेगम र लता मंगेशकर जस्ता गायिकाको बलियो पकड थियो।

त्यो स्थितिमा आशालाई संयोगले जुराएको मौका नै करिअर उकास्ने सिंढी बनिदियो । जुन गीत ती स्थापित गायिकाहरुले अस्वीकार गरेर छाडेका हुन्थे, ती उनको भागमा पर्न थाल्यो। उनले हार मानिनन् । आफूले पाएको काम पूरै तन–मनका साथ गरिन्।

सन् १९५७ मा उनलाई त्यो वेलाका चल्तीका संगीतकारमध्येका एक ओ।पी। नैय्यरले गाउने अवसर दिए। फिल्म थियो, ‘तुमसा नही देखा’। त्यसपछि ‘नया दौर’ (१९५७), ‘लाजवंती’ (१९५८), ‘हावडा ब्रिज’ (१९५८) र ‘चलती का नाम गाडी’ (१९५८) जस्ता फिल्मले उनलाई बलिउडमा स्थापित गरे।

विद्रोही स्वभाव

आशा भोसले सानैदेखि खुला दिल र विद्रोही स्वभावकी थिइन्। यही कारण घरपरिवारको अनुमतिविना उनले १६ वर्षकै उमेरमा गणपतराज भोसलेसँग विवाह गरेकी थिइन्। तर सबै ठीकठाक नचलेपछि केही वर्षपछि उनी माइतीघर फर्केर आइन्, त्यस वेलासम्म उनका तीन बच्चा भइसकेका थिए।

आशाले बलिउडका ख्यातिप्राप्त संगीतकार पंचम दा (आर.डी. बर्मन) सँग सन् १९८० मा विवाह गरिन्। त्यसपछि उनको करिअरले झनै उँचाइ लियो। दुवैको सांगीतिक सहयात्राले धेरै हिट गीत दियो।

सम्बन्धित समाचार