बंगलादेशमा जारी त्रिकोणीय सिरिजमा अफगानिस्तानले कीर्तिमानी जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा अफगानिस्तानले बंगलादेशलाई २५ रनले पराजित गर्दै अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा धेरै खेलमा अपराजित हुने अस्ट्रेलियाको रेकर्डको बराबरी गरेको छ । अफगानिस्तानको यो जितसँगै अस्ट्रेलियासँग १२–१२ खेलमा अपराजित हुने रेकर्ड बनेको छ ।
यस खेलमा अफगानिस्तानले दिएको १६५ रनको लक्ष्य पछाएको बंगलादेश १९.५ ओभरमा १३९ रन बनाउँदा अल आउट भएको थियो ।
बंगलादेशका लागि मह्मुदुल्लाहले सर्वाधिक ४४ रन बनाए भने सब्बिर रहमानले २४, अफिफ होसैनले १६ कप्तान शकिब अल हसन तथा मुताफिजुर रहमानले ले १५/१५ रन बनाए ।
अफगानिस्तानका बलर मुजीब उर रहमानले ४ विकेट लिए भने राशिद खान, गुलबदीन नैव र फरीद अहमदले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।
४० रन बनाउदा ४ विकेट गुमाएको अफगानिस्तानलाई मोहमद नावीले आक्रामक पारी खेल्दै राम्रो अवस्थामा पुर्याएका थिए । नावीले राम्रो खेल खेल्दै ५४ बलमा ८४ रनको उत्कृष्ट पारी खेलेका थिए । त्यस्तै अस्घर अफगानले महत्वपूर्ण ४० रन बनाए ।
बंगलादेशका बलर मोहमद सैफुद्धीनले ४ विकेट लिए भने शकिब अल हसनले २ विकेट लिए ।
त्रिकोणीय सिरिजमा अफगानिस्तानले दुवै खेल जितेको छ भने बंगलादेशले २ खेलमा एक खेल जितेको छ । त्यस्तै जिम्बाबेले भने अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेको छ ।