पेट दुख्दा खाएको नपचेको तथा धेर खाएको सोचेर धेरैजसो मानिसहरुले खासै वास्ता गर्दैनन् । तर, यसरी बेवास्ता गर्नु शरीर र स्वास्थ्यका लागि खतरा हुन सक्छ । सामान्य पेट दुख्नु नै पछि गएर ठूलो रोगको लक्षण हुन सक्छ । सामान्य पेट दुख्दा एपेन्डिक्स भएको समेत हुनसक्छ ।
दुईदेखि तीन इन्च जति लामो, पातलो ट्युबजस्तै देखिने एपेन्डिक्स शरीरको एक अंग हो । एपेन्डिक्समा दुई वटा भाग हुन्छन्, एउटा खुला, अर्को बन्द । खुला भागबाट केही खानेकुरा छिरेमा त्यो एपेन्डिक्समै अड्किरहन्छ र, एपेन्डिक्समा इन्फेक्सन हुन थाल्छ । एपेन्डिक्समा इन्फेक्सन भएमा पेटको दुखाइ सुरु हुन्छ ।
समयमा उपचार भएन भने एपेन्डिक्सले गम्भीर रूप लिन सक्छ । यो रोगमा एपेन्डिक्स सुन्निने हुन्छ । सही समयमा उपचार गरेमा सजिलै निको हुने एपेन्डिक्सलाई लापरबाही गरियो भने, त्यसले निकै जटिल समस्या निम्त्याउन सक्छ । एपेन्डिसाइटिस रोगको लक्षण अन्य समस्यासँग मेल खाने हुँदा यसलाई सजिलै थाहा नहुने भएकोले पहिचान गर्न निकै गाह्रो हुन्छ । सामान्य अवस्थामा एपेन्डिसाइटिस भएको थाहा हुँदैन तर, जब यो रोगले जटिल रूप लिइसक्छ, त्यसबेला उपचार खर्चिलो र जटिल हुनपुग्छ ।
एपेन्डिसाइटिसमा पेटको तल्लो ठाउँमा दुख्नु सबैभन्दा प्रमुख लक्षण हो । यदि पेटको दाहिने भागमा दुख्छ भने त्यो एपेन्डिसाइटिसको सम्भावना हुनसक्छ । यस्तो दुखाइ एपेन्डिक्सको अतिरिक्त दवाबको कारण भएको हुन्छ । सुृरुमा यस्तो दुखाइ नाइटोको छेउमा सुरु भै दुखाइ नाइटोबाट हटेर पेटको दाहिनेतर्फ पुग्छ, जहाँ एपेन्डिक्स हुन्छ । तीव्र गतिमा बढ्ने यो दुखाइ केही घन्टामा सहनै नसकिने खालको हुन जान्छ ।
पेटमा ग्यास बढी भरिनु तथा भोक नलाग्नु पनि एपेन्डिसाइटिसको लक्षण हो । पेटमा ग्यास भरिएसँगै लामो समयसम्म लगातार दुखिरहेमा भोक नलाग्नु वा खानामा अरुची हुनु, वाकवाकी लाग्नु एपेन्डिसाइटिसको लक्षण हुनसक्छ । यसका साथै कब्जियतले पनि सताउन सक्छ । यसैले पेटको अत्यधिक दुखाईसँगै भोक नलाग्ने, वाकवाकी लाग्ने, उल्टी हुने तथा रिंगटा लाग्ने समस्या सुरु हुन्छ भने चिकित्सककहाँ तुरुन्तै जान आवश्यक हुन्छ ।
एपेन्डिक्सको दुखाइ एकछिनमा ठिक हुँदैन । एपेन्डिक्समा समस्या भएमा दुखाइ लामो समयसम्म रहन्छ । सानातिना काम गर्दा होस् या खोक्दा वा हाछ्युँ गर्दा पनि पेट दुख्ने हुँदा शारीरिक गतिविधिमा समस्या आउन सक्छ । एपेन्डिसाइटिस भएको हो भने माथि उल्लेख गरिएका लक्षणहरुका साथै शरीरको तापक्रम बढ्न गइ हल्का ज्वरोसमेत आउने हुन्छ । सामान्यत यो ज्वरो लगभग १ सय फरेनहाइट सम्मको हुन जान्छ । यदि ज्वरोका साथै जिउ काप्न थालेमा, पसिना आएमा ढिला नगरी चिकित्सककोमा जानु पर्छ ।