मिलान डर्बीमा इन्टरमिलान विजयी, अपराजित हुदै शिर्ष स्थानमा

इटालियन सिरी ए अन्तर्गत मिलान डर्बीमा इन्टरमिलान विजयी भएको छ । गएराती सम्पन्न खेलमा इन्टरमिलानले एसी मिलानलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

इन्टरको जितमा मार्सेलो ब्रोजोभिक र रोमेलु लुकाकुले एक एक गोल गरेका थिए । इन्टरमिलानले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४९औ मिनेटमा ब्रोजोभिकले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए भने लुकाकुले खेलको ७८औ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।



लुकाकुले इन्टरमिलानका लागि खेलेका ४ सिरी ए खेलमा तीन गोल गर्दै उत्कृष्ट सुरुवात गरेका छन् ।

च्याम्पियन्स लिग अन्तर्गतको पछिल्लो खेलमा स्लाभिया प्राहसँग १–१ गोलको बराबरीमा रोकिएको इन्टरले सिरी ए मा भने लगातार चौथो जित हासिल गर्दै अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।

इन्टरले यस सिजनमा युभेन्टसलाई कडा टक्कर दिने देखिएको छ । इन्टर अहिलेसम्म अपराजित रहदै १२ अंक बटुलेको छ भने युभेन्टस ४ खेलमा ३ जित र एक बराबरी खेल्दै दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै एसी मिलानको भने चौथो खेलमा यो दोस्रो हार हो ।

इन्टरले अब अर्को खेल आगामी बुधबार लाजियोसँग खेल्ने छ भने मिलानले टोरीनोसँग खेल्ने छ ।

सम्बन्धित समाचार