क्यानाडाको टोरन्टो शहरमा हुने भयो सिने स्टार अवार्ड

पछिल्लो समय नेपाली चलचित्रका अवार्डहरु विभिन्न देशहरुमा हुँदै आएका छन् । केही साता अघि मात्र सूर्य नेपालले सूर्य नेपाल चलचित्र अवार्डको दोश्रो संस्करण जापानको टोकियोमा आयोजना गर्ने घोषणा गरेको थियो । यसै क्रममा क्यानाडाको टोरन्टो शहरमा सिने स्टार अवार्ड २०२० को घोषणा गरिएको छ ।

आइतबार राजधानीमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा यो अवार्डको घोषणा गरिएको हो । अवार्डमा जुरिको रुपमा रमेश बुढाथोकी, मोहन निरौला र दिनेश डिसी रहनेछन् ।



हिल्सा इन्टरटेनमेन्टको आयोजनामा हुने यो अवार्ड कार्यक्रममा विभिन्न १३ विधामा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ । कार्यक्रममा उपस्थित चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले विभिन्न देशमा हुने यस्ता अवार्डहरुले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष तथा वरिष्ठ कलाकार कृष्ण मल्लले यस किसिमका अवार्डले कलाकार तथा चलचित्रकर्मीहरुमा उत्साह पैदा गराउने बताए । कार्यक्रममा नायिका आँचल शर्मा, नायक सलोन बस्नेत, हाँस्य कलाकार सीपी मैनाली, नायक शिव श्रेष्ठ लगायतका कलाकारको उपस्थित रहेको थियो ।

सम्बन्धित समाचार